रत्ननगर । चितवनको सौराहामा दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको सो तालिममा ७० बढी व्यवस्थापकहरुको सहभागिता रहेको थियो । दुईदिने तालिम शनिबार सकिएको छ ।
समापन कार्यक्रमका प्रमुखअतिथि केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष भागीरथ तिमिल्सिना र संघका जिल्ला अध्यक्ष किशोर बगालेले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष बगालेले लागत मूल्य घटाउन घाँसमा आधारित पशुपालनको विकास गरी चोकरको प्रयोग अन्त्य गर्नुपर्ने बताए । उनले डेरी उद्योगले भुक्तानी नदिएका कारण किसानहरु मर्कामा परेको बताए । ‘दूध बेचेर दाना, चोकर किन्न सक्ने अवस्था छैन’, उनले भने, ‘भुक्तानी रोकिएको लामो समय भयो, अहिलेको जस्तो अवस्था कहिल्यै आएको थिएन ।’ उनले सहकारीले उत्पादन गरेको दाना किसानले खरिद नगर्दा समस्या भएको बताए ।
सो तालिममा कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन, सहकारीमा लेखापरीक्षण तथा कर प्रणाली, बैठक व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तावना लेखन, सिद्धान्त र व्यावहारिक प्रयोग, संस्थापक संरचना, व्यवस्थापकको भूमिका र जिम्मेवारी, जोखिम क्षेत्रको पहिचान, सहकारीमा कानुन पालना र व्यवस्थापन कार्यदिशालगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमको प्रशिक्षकमा विनोद खतिवडा र नवकुमार अधिकारी रहेका थिए । कार्यक्रम सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस