भरतपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको गठबन्धन आगामी ८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । शनिबारदेखि भरतपुरमा सुरू भएको एमाले चितवनको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले अहिले नयाँ गठबन्धन बनेपछि कांग्रेस भयानक बेचैनी र छटपटीमा रहेको बताए ।
‘त्यसो त, अहिले पनि कांग्रेस नयाँ सहयात्रा भङ्ग गर्ने प्रयत्नमा छ । तर, यो सहयात्रा ८४ सालको चुनावसम्मै कायम रहन्छ । यो थाहा पाएर कांग्रेस संसद्मा ताण्डव नृत्य मच्चाइरहेको छ । संसद्को र सभामुखको कुनै मर्यादा गरेको छैन’, पौडेलले भने । उनले कांग्रेसले अवरूद्ध गरेको संसद् खुलाउन संवाद गर्ने तर सहमतिमा नआए व्यवधान पन्छाएर अगाडि बढ्ने बताए ।
‘यो गठबन्धन रहे आफ्नो भविष्य छैन भन्ने कुरा कांग्रेसले बुझेको छ, त्यसैले अनेक प्रपञ्चमा छ’, पौडेलले भने ।
‘कांग्रेसले बहुमतलाई बन्धक बनाएको छ । संसद्मा हद देखायो, कुनै मर्यादा राखेन । सत्तापक्षको ठाउँमा आएर हुलहुज्जत ग¥यो’, उनले भने, ‘कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक बनाउन दिँदैनौँ ।’
उनले कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो नहुनेसमेत जिकिर गरे । उनले कांग्रेस संसद्मा अलोकतान्त्रिकरुपमा अगाडि बढेको दाबी गरे । ‘कांग्रेसको भविष्य छैन’, उनले भने, ‘आउने निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा राख्छौँ ।’ उनले आगामी चुनावमा कांग्रेसलाई जसरी भए पनि परास्त गर्ने बताए ।
‘नेपाली कांग्रेस प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन’, उनले भने, ‘यसपटक कांग्रेसलाई प्रतिपक्षमा राखेर आउने निर्वाचनमा हामीले बहुमत ल्याउँछौँ ।’ उनले कांग्रेसको भाग्यमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताएका छन् । पौडेलले सहकारी संस्थाको ठगीका बारेमा छानबिन समिति बनाउने सहमतिबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे ।
सोमबारसम्म चल्ने चितवन एमालेको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुङ्गानाका अनुसार जिल्ला अधिवेशनमा ७ सय ६१ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले १ सय २० जनाको कार्यसमिति गठन गर्ने छ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमल पाठकको नाम चर्चामा छ ।
त्यसैगरी, कृष्ण भूर्तेल र तेजेन्द्र खड्काले पनि अध्यक्ष पदमा रूचि देखाएका छन् । आज आइतबार मनोनयन दर्ताको कार्यक्रम छ । सर्वसम्मत नभए सोमबार मतदान हुने एमाले चितवनले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस