गुल्मी : गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।
सव स्टेशनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेशनका स्टोर प्रमुख नारायण थापाले बताउनुभयो । जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।
अहिले यहाँका भिविन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम भइरहेको छ उहाँले भन्नुभयो, ‘जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी छ ।’ यहाँबाट विद्युत विस्तर गरेसँगै अहिलेका धेरै समस्याहरु समाधान गर्ने स्टोर प्रमुख थापाले बताउनुभयो ।
यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट प्राविधिक टोलीले काम गरिरहेको छ । छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी वासीको समस्या समाधान गर्न १३२ केभिए लाइनको बिस्तार गर्न सव स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
हाल जिल्लामा बुटवलबाट ३३ केभिएमार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।
केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।
सव स्टेशनको सिग्माकन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रशारण लाइनको पहुँच पुर्याउनका लागि सव स्टेशन निर्माण भएको हो ।
कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।
गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सव स्टेशन निर्माणको काम तीब्र गतिमा भइरहेको छ । उनाएचौरबाट पौदीअमराईसम्म विद्युतका टावर निर्माण कार्य सकेर लाइन बिस्तारको काम भइरहेको थापाले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बाग्लुङ जिल्लामा विद्युतलाई भरपर्दो तरिकाले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सव–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।
अर्को गुल्मीमा बुटवलमा रहेको सव स्टेशनबाट लामो दुरीमा विद्युत आउँदा विभिन्न समस्या हुने कामको अत्य उनाएचौरको सव स्टेशनले गर्नेछ । जिल्लामा सव स्टेशन बन्नु सुखद पक्ष रहेको स्थानीय व्यवसायी जनक पन्थले बताउनुभयो । उहाँले अहिले लामो दुरिमा विद्युत वितरण हुँदा हुने समस्याको पनि अन्त्य हुने बताउनुभयो ।छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएका गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम पुरा भएसँगै समस्याको हल हुने स्थानीयको आशा गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस