भरतपुर, जेठ ८-
गुरूङ जातिमा रहेका मौलिक एवम् परम्परागत संस्कार, संस्कृतिक ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणको लागि तमू प्ये ल्हु संघ चितवनले ‘फु ताँ सों’ र घाँटु नाचको विषयमा अन्तरक्रिया गरेको छ । भरतपुरमा भएको कार्यक्रममा मुख्य वक्ता ठाकुरजंग गुरूङले भाषा हराउँदै जाँदा त्यसको प्रभावमा संस्कार संस्कृतिसमेत हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । अहिलेको नयाँ पुस्ता पोशाकप्रति मात्रै केन्द्रित हुँदा गुरूङ जातिको मुख्य विषय नै ओझेलमा परेको उनको भनाइ छ ।
अर्का प्रमुख वक्ता जगतबहादुर गुरूङले गुरूङ जातिको उद्घम स्थल मानिएको क्होलासोंथर क्षेत्र विस्तापित भएसँगै गुरूङ जातिको हरेक कृयाकलाप सङ्कटपूर्ण बन्दै गएको बताए । पछिल्लो समय क्होलासोंथरको विषयमा केही कुरा बाहिर आए पनि आउनुपर्ने जति आइनसकेको हुँदा त्यसमाथि अझै खोजविन हुनुपर्ने उनको भनाइ छ । ‘जब क्होलासोंथर विस्थापित भयो, त्यसपछि नै हाम्रा संस्कृतिहरू पनि ओझेलमा पर्दै गए । पारिए,’ उनले भने, ‘हिजो इतिहास लेख्नेहरू हाम्रो पहुँचका भएनन् । त्यसले पनि अर्को असर पारेको छ ।’
वक्ताहरूले घाँटु नाचको विषयमा पनि चर्चा गरेका थिए । वैशाख पूर्णिमाको छेकोमा नाचिने घाँटु नाचसमेत कतिपय स्थानमा लोप भइसकेको हुँदा यसको संरक्षण गर्न पनि नयाँ पुस्ताले चासो देखाउनुपर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरूङले परम्परासँग सम्बन्धित संस्कृति जगेर्ना गर्ने विषयमा नयाँ पुस्ताले समेत चासो देखाउनुपर्ने बताए । फु ताँ सों भन्ने गुरूङ भाषाको शब्दलाई नेपाली भाषामा बुद्ध जयन्ती भनिएको हुँदा बुद्ध जयन्ती नै लोकप्रिय बन्दै गएको उनको भनाइ छ । ‘त्यसकारण हामीले आफ्नो भाषा र भाषाबाटै आएका साँस्कृतिक पक्षलाई केलाएर संरक्षण गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने ।
तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले भाषा संस्कृति संरक्षणको लागि प्ये ल्हु संघले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस