चितवन, जेठ ८-
चितवनको रत्ननगर पिठुवामा रहेको पिठुवा सिंचाईको मूल नहर अतिक्रमणको मारमा परेको छ । साबिकको पिठुवा गाविसको झन्डै १३ सय ५० हेक्टर जमिनमा व्यवस्थित सिंचाई सुबिधा उपलब्ध गराउन वि.सं. २०३० सालमा निर्माण गरिएको नहरको दायाँबायाँ क्षेत्रमा अनाधिकृत रुपमा निर्माण तथा जग्गा प्लटिङको कार्य नरोकिंदा नहर अतिक्रमणको मारमा पर्दै गएको हो ।
नहर रत्ननगर नगरपालिका–१६ को भुत्याहा देखि वडा नं. १४ को मध्य भागसम्म कायम छ । विभिन्न ठाउँमा १२ मिटरदेखि १६ मिटरसम्म नहरको चौडाई रहेको छ ।
यसको मूल नहर मात्र नभई शाखा नहरहरू समेत अतिक्रमणको चपेटामा परेका छन् । विशेष गरि वडा नं. १५ को लागी लगिएको नहरमा तीव्र अतिक्रमण भएको छ । केहि वर्ष अगाडीसम्म ४ देखि ५ मिटर चौडाईमा फैलिएको सो नहरको अहिले पानी बग्ने भाग बाहेक १र१ मिटर पनि पुरै नराखी कटान गरिएको छ । यसले पूर्ण क्षमतामा नहर संचालन हुने समयमा नहर नै फुट्ने जोखिम बढेको छ ।
तीव्र बसाईसराईको कारणले जनघनत्व बढ्दै गएपछि नहरको दायाँबायाँ क्षेत्र अतिक्रमण हुँदै गईरहेको हो । हाल नहरको दायाँबाँया डिलमा कब्जा जमाएर ठूला निर्माण कार्य भएका छन् भने खनजोत गरेर खेती गर्ने, चौपाया बाध्ने, पराल थुपार्ने, निर्माणजन्य पदार्थ भण्डारण गर्ने जस्ता कार्य भैरहेका छन् । यस्ता कार्य नगर्न नगराउन पटकपटक आग्रह गर्दापनि बेवास्ता हुँदै आएको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाका सचिव मदन भुजेलले बताए ।
संस्थाको पटकपटकको आग्रह बेवास्ता गरेर निर्माण संरचना नहटाउने माथि अब निर्मम हुने नीति लिईएको संस्थाका अध्यक्ष देवबहादुर रानाले जानकारी दिए। सोहि अनुसार शनिवार पिठुवा डेरी नजिकैको क्षेत्रमा कटान गरिएको नगरको डिल पुर्वावास्थामा फर्काइएको छ । सो कार्य गर्दा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित जग्गा धनीबाट असुल उपर गरिने अध्यक्ष रानाले बताए । नहर संरक्षणको कार्यमा उपभोक्ता समिति, किसान र स्थानिय सरकारको त्रिपक्षीय भूमिका अत्यावश्यक रहेको उनको धारणा छ ।
वडाध्यक्ष हेमराज थापा अतिक्रमित नहर संरक्षणको लागी वडा कार्यालयमै पटकपटक सरोकारवालाहरु संग छलफल गरिएको बताउँछन् । अतिक्रमण बारे गुनासो आउनासाथ आफुले व्यक्ति पहिचान गरि सचेत गराएपनि यस्ता कार्य पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको उनले बताए ।
भुत्याहाको अस्थाई बाँधबाट सुरु भएर झन्डै पाँच किलोमिटर लम्बाईमा फैलिएको नहरबाट २३ वटा शाखा संचालन गरि हाल १२ सय हेक्टर बढी जमिनमा सिंचाई गरिंदै आइएको छ । वर्षको आठ महिना सो क्षेत्रमा सहज रुपमा सिंचाई सुविधा दिने उक्त नहरले पानीको श्रोतको अभावमा बाँकी समयमा भने माग अनुसार पानी वितरणमा समस्या भोग्दै आएको छ ।
यहि समस्या समाधान गर्न तथा समग्र पूर्वी चितवनलाई नै सिंचाई सुविधा पुर्याउन आर्थिक वर्ष २०६८/६९ को वार्षिक विकास कार्यक्रम मार्फत त्रिशुली– शक्तिखोर डाइभर्सन अघि बढाउने घोषणा सरकारले गरेको छ । विधुत समेत उत्पादन गर्नेगरी पहिचान गरिएको बहुउद्देशीय उक्त आयोजनाको निर्माणको लागी विभिन्न स्तरबाट पहल भइरहेको छ ।
गएको चैतमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले उक्त आयोजना निर्माणको लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए भने सांसद हरि ढकालले आगामी बजेटमा उक्त आयोजना समाबेश गराउन अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । चैत्र ३१ गते पुर्विचितवनका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले सो आयोजना आगामी बजेटमा समावेश हुने प्रतिबद्दता व्यक्त गरेका छन् ।
नहरमा पानी थप गर्न ठूला आयोजना कार्यान्वयनको चरणमा जानै लाग्दा नहर नै अस्तव्यस्त हुनेगरी अतिक्रमण बढ्दा चिन्ता थपिएको सामाजिक अगुवा रामहरी पनेरुले बताए । त्रिशुली–शक्तिखोर डाइभर्सन निर्माणको चरणमा जाने हो भने अबको केहि वर्षमा नै सो नहर मार्फत रत्ननगरका धेरै क्षेत्रमा बाह्रै महिना पूर्ण क्षमतामा सिंचाई सुविधा उपलब्ध हुनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस