चितवन : चितवनका एकीकृत माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका सांसद नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित भएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दाहालको पक्षमा स्पष्ट बहुमत देखिएकोले उनी उम्मेदवार बन्ने निश्चित भएको हो । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी, समर्थकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद खालिद छन् । भोलि मंगलबार राष्ट्रियसभाको अध्यक्षको लागि निर्वाचन हुने कार्यतालिका छ ।
५९ सदस्यीय राष्ट्रियसभामा सत्ता गठबन्धनको सहज बहुमत छ । राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन् ।
कृष्णप्रसाद सिटौलाले जित्ने सम्भावना नभएपछि कांग्रेसले सांसद युवराज शर्मालाई उमेदवार बनाएको छ । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । यसरी समग्र सांसदहरुको संख्यालाई हेर्दा चितवनका नेता नारायण दाहाल राष्ट्रिय सभाको अध्यक्ष भन्ने निश्चित भएको छ ।
को हुन् नारायण दाहाल ?
विसं २०१२ सालमा जन्मिएका नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहोदर भाइ भने होइनन् । प्रधानमन्त्री प्रचण्डको भाई गंगाराम दाहाल हुन् उनी बेलायतमा वन विज्ञानका विज्ञ हुन् । भरतपुर महानगरपालिका–१४ शिवनगरका नारायण प्रधानमन्त्रीको दाजुभाई खलकमा पर्ने व्यक्तित्व हुन् ।
माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीका अनुसार प्रचण्डसँगै काम गरेकोले नारायण दाहाल राजनीतिक हिसाबले भाइ हुन् । उनले भने, ‘ प्रचण्डको सहोदर भाइ उहाँ होइन । राजनीतिक हिसाबले भाइ हो । तलदेखि निरन्तर राजनीति गर्दै आएको व्यक्तित्व हो ।’
दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा लागे पनि उनी २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भएका हुन् । २०४८ मा उनी महाधिवेशन प्रतिनिधि बने । अहिले पार्टीको स्थायी समिति सदस्य रहेका नारायण २०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य भएर काम गरिरहेका छन् ।
उनी वृहत् शान्ति सम्झौंतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । उनले भारतमा रहेर नेपाली एकता समाजमा काम गरे भने पछि भेरी कर्णाली र सुर्खेत जिल्लाको इन्चार्ज पनि बने । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि उनी कास्की जिल्लाको इन्चार्ज बने ।
दाहालले प्रधानमन्त्री प्रचण्डको प्रशासनिक सल्लाहकार भएर समेत काम गरिसकेका छन् । भूमिगत कालमा ‘सरल’ र ‘रामप्रसाद’ को नामले चिनिने दाहाल सरल व्यक्तित्व, विषयलाई गम्भीर ढंगबाट बुझ्ने र राम्रो निर्णय क्षमता भएको व्यक्तिको रुपमा चिनिने चितवनका माओवादी नेताहरु बताउँछन् ।
एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि दाहालले बागमती प्रदेश कमिटीको अध्यक्ष बनेर जिम्मेवारी सम्हालेका थिए । राजनीतिको सबै संगठन र सबै क्षेत्रमा जिम्मेवारी समालेका गरेका दाहाल राष्ट्रिय सभाको लागि उपयुक्त उम्मेदवार भएको माओवादी केन्द्र चितवनका संयोजक अधिकारीले बताए । नारायण दाहालले आफ्नाबारेमा जानकारी नहुनेले प्रचण्डका भाइ भनेर आरोप लगाउने गरेको बताउँदै आएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस