चितवनका मानवअधिकारवादीहरुले देशमा मानव अधिकारको प्रत्याभूतिको लागि सुशासन र आर्थिक समृद्धि अनिवार्य भएको बताएका छन् ।
आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार सञ्जाल चितवन र रोटरी क्लब अफ भरतपुरले सप्तगण्डकी बहुमुखी क्याम्पसमा गरेको ‘नेपालमा मानव अधिकारः चुनौतीहरु र अवसरहरु’ विषयक अन्तरक्रियामा सुशासन र समृद्धि अनिवार्य भएको बताएका हुन् । कार्यक्रममा मानवअधिकारवादीहरुले युवा र बौद्धिक वर्गको विदेश पलायन, आर्थिक मन्दी, महंगी, भ्रष्टचार, सामाजिक विकृति जस्ता समस्याले सर्वसाधारण नागरिकहरु समस्यामा परेकोप्रति सबैले चिन्ता र चासो व्यक्त गरे ।
पाँचवटा दीप प्रज्जवलन गरेर उद्घाटन गरिएको अन्तरक्रिया कार्यक्रममा चितवनका अग्रज मानव अधिकारकर्मी तथा नेपाल मानव अधिकार संगठनका पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पौडेलले देशमा मानव अधिकारको प्रत्याभूतिको लागि समृद्धि र सुशासन आवश्यक भएको बताए । उनले भने, ‘ धेरै मानव अधिकारको उल्लंघन राज्यले गर्छ । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो । यसै व्यवस्थालाई सुदृढ बनाउँदै लगेर संविधानले ग्यारेन्टी गरेका मानव अधिकारको प्रावधानहरुको कार्यान्वयन गर्नुपर्छ ।’ उनले हरेक समय युद्ध आवश्यक नभए पनि परिर्वतन र विकासको लागि युद्ध आवश्यक भएको बताएका छन् । पछिल्लो समय मावन अधिकारका घटना न्यूनीकरण गर्न स्थानीय जनतासँगै प्रधानमन्त्री पनि सचेत र जिम्मेवार हुन पर्ने उनको भनाइ हो ।
त्यस्तै काहुराष्टका सल्लाहकार टेकबहादुर थापाले मानव अधिकारको मुद्दालाई कार्यान्वयन गर्न शिक्षा प्रणालीमा परिवर्तन गर्न जरुरी भएको बताए । उनले शिक्षा क्षेत्रमा रुपान्तरण गर्न नसकेको कारणले अहिले देशमा धेरै समस्या देखिएको जनाए । सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख खिमलाल दाहालले यसप्रकारको महत्वपूर्ण कार्यक्रम जनचेताको दृष्टिकोणले क्याम्पसमा भएको भन्दै खुसी व्यक्त गरे ।
मानव अधिकार सञ्जाल चितवनका संयोजक दिपक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकार सञ्जाल चितवनको तर्फबाट कार्यपत्र पेस गर्दै काहुराष्टका केन्द्रीय उपाध्यक्ष विनोदखण्ड तिमिल्सिनाले देशमा बनेका संविधान र कानुनहरुको कार्यान्वयन तथा व्याख्यामा शक्ति पृथकीकरणको असर अभ्यासमा राज्यका निकायहरु केन्द्रित हुनुपर्ने विचार राखे । तिमिल्सिनाले कार्यपत्रमा भनेका छन्, ‘राजनीतिक उपलब्धिहरुलाई संस्थागत गरी थप अधिकार प्राप्तिका लागि जनमतबाटै आफूले चाहेका अधिकार र राजनीतिक परिवर्तन गर्ने अवसर संविधानमार्फत् प्राप्त भएको छ र थप राजनीतिक आन्दोलनको अनिवार्यता जनमत जित्नमा उपयोग गरे पुग्ने भएको छ ।’ उनले संक्रमणकालको व्यवस्थापनको लागि शान्ति प्रक्रियाको अभिन्न अंगको रुपमा संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्न समसामायिक ऐन कानुन बनाएर राजनीतिक शक्तिहरु कार्यक्रमिक र परिणामुखी प्रतिस्पर्धामा आउनुपर्ने विचार राखे । देशमा मानव अधिकार कार्यान्वयनको कतिपय हक अधिकारहरु दस्तावेजमा मात्र सीमित हुने खतरा पैदा भएकोमा तिमिल्सिनाको दुःखेसो छ ।
त्यस्तै कार्यक्रममा नेपाल मानव अधिकार मञ्च चितवनका अध्यक्ष यमबहादुर विश्वकर्माले मावन अधिकार सबैको साझा महत्वको विषय भए पनि नेपालमा एक पेट खान पाउनुलाई पनि मावन अधिकार मान्ने गरेको बताए । नेपालमा जातधर्मले पनि मानव अधिकार हनन् हुने गरेकोले सबैले आफूनो अधिकारको लागि आवाज उठाउनै पर्ने उनको भनाइ छ । त्यस्तै देश विकाससँगै मानव अधिकारको विषय पछिल्लो समय ओझेलमा पर्दै गएको धारणा नेपाल मानव अधिकार संगठन चितवनका अध्यक्ष हरि अधिकारीले व्यक्त गरेका छन् । उनी भन्छन्, ‘हाम्रो समाजमा हत्या गरेर जेल सजाए भोगेका राजनीतिक दलका तथा ठूला मानिस भनिएका अपराधिलाई आममाफी दिइन्छ र रिहा भएको दिन फूलमाला अबिर लगाइन्छ । के यसो गर्दै गर्दा पीडितले न्याए पाए ? के अब न्याएको लागि आन्दोलन गर्नै पर्ने हो ।’ यस्तै चितवनमा मानिसको शव बोरामा फेला परेको भन्दै यसले शान्तिसुरक्षामा शंका उत्पन्न भएको उनको विचार छ ।
‘नेपालको संविधानमा मानव अधिकारका विषय उल्लेख भए पनि यसको कार्यन्वयन ऐन बनेपछि मात्रै हुने भनिएको थियो । तर, यस सम्बन्धी कुनै ऐन बन्न नसकेको र राज्यको अवस्थापनि फितलो रहेको छ’, शान्ति समाजका उप-सभापति राजेन्द्र पौडेलले भने । उनका अनुसार यस क्षेत्रमा सुशासन कायम नहुँदा नेपालको लोकतन्त्र धरापमा परेको हो । त्यस्तै कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका प्रमुख दिपेन्द्र अधिकारीले नेपालको संविधान–२०७२ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ मा समानताको हक र २० मा न्याय सम्बन्धी हक उल्लेख भएको स्मरण गराएका थिए । यस्तै आर्थिक समृद्धिले मात्रै मावन अधिकार कायम हुने भन्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधुसूदन दवाडीले लिपुलेक र कालापानीका स्थानीय नागरिकले मानिस हिड्ने गोरेटो बाटो माग्दा सरकारको ध्यान पुग्न नसकेको बताए । उनले भोको पेटमा राष्ट्रियताको विषय महत्वहिन हुने विचार राखे ।
कृषि तथा वन विश्व विद्यालय रामपुरका विद्यार्थी सुसन अर्यालले मावन अधिकारकर्मीले आगामी दिनमा लैंगिक विषयको उठान गर्नुपर्ने मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष शम्भु रावतले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको भन्दै धर्ती रहयो भने मात्रै हामी मावन रहने अवस्था रहेकोले धर्ती समेत बचाउन पर्ने तर्क राखेका थिए ।
सञ्जालका पूर्वसंयोजक विश्वनाथ ओझाले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विवेक क्षेष्ठले स्वागत मन्तव्य राख्दै वितगका वर्ष जस्तै यसवर्ष पनि जनचेतना दिन संस्थाले कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने बताएका छन् ।
हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । मानव अधिकार सबै नागरिकको चासोको विषय हो । मानव अधिकारका क्षेत्रमा विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले काम गर्दै आइरहेका छन् । राज्यले पनि मानवअधिकारका विषयमा सचेत रहेको भन्दै उल्लंघनका घटना हुन नदिने प्रतिवद्धता जनाउँदै आएको छ । तर, समाजमा मानव अधिकार हननका घटना दिनदिनै भइरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस