दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आइतवार (आज) दार्चुला जिल्लाकै प्रशिद्ध जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जात्रामा श्रद्धालु भक्तजन र दर्शकहरुको ठूलो भिड हुने गरेको छ । पुजाआजासंगै विभिन्न सांस्कृतिक गतिविधि र मनोरञ्जनका लागि प्रशिद्ध मालिकार्जुन जात्रा भाराण लगेपछि दिउँसोदेखि नै सुरु हुने गरेको छ ।
जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिएको छ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास/निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने र सेवन तथा बिक्रिवितरण गरेको पाइएमा पक्राउ गरी कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले बताउनुभयो । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
डिएसपी सिंहका अनुसार मालिकार्जुन जात्रामा ६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित १३७ नेपाल प्रहरी खटिदै छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ६० जना सशस्त्र प्रहरी खटिने बताइएको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु समेत जात्रामा सहभागि हुने बताइएको छ । सवारीसाधन चेकजाँचको लागि ट्राफिक प्रहरी समेत खटिएका छन् । मालिकार्जुन जात्रालाई मध्यनजर गदैँ सुरक्षा समितिले जिल्लाको लेकम क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ । मालिकार्जुनसहित दर्जनौँ विभिन्न शक्तिपिठमा जात्रा लागेको छ ।
मालिकार्जुनमा मदिरा कारोबार गर्ने व्यवसायीहरुलाई पनि प्रहरीले जात्राको दिन मदिरा पुर्ण रुपमा बन्द गर्न भनेको छ । जात्रामा कोही कसैले मदिरा सेवन गरेको भेट्टिए तत्काल कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जात्राको लागि दार्चुलाका दुई स्थानीय तहमा दुई दिन स्थानीय विदा समेत दिइएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले यही मंसिर १० गते आइतबार र ११ गते सोमबार विदा दिइएको सम्बन्धित स्थानीय तहले सार्वजनिक सुचनामार्फत जानकारी गराएका छन् । भाइटिका तथा द्धितिया तिथिबाट सुरु भएका जात्राहरुको क्रममा मंसिर ५ गते लेकमको प्रशिद्ध जयपुर जात्रा र ९ गते शिखर धुरामा पुजन जात्रा सम्पन्न भइसकेको छ । लेकम क्षेत्रमा पूर्णिमासम्म विभिन्न शक्तिपिठमा दैनिकजसो जात्रा लागिरहेका छन् ।
मालिकार्जुन जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा, बिद्युत, खानेपानी, हेल्थ डेस्क स्थापना लगायतका आवश्यक व्यवस्थापकीय कार्यहरु गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस