चितवन : देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य चितवनको सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिने भएको छ । चितवनको सौराहालगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र चलचित्र विकासमा टेवा पुर्याउने उद्देश्यले क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ‘सौराहा साउथ एसियन फिल्म फेस्टिबल’ आयोजना गर्न लागिएको हो ।
मंगलबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय चित्रसारी पुलनजिकको खालीचौरमा फेस्टिबलको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटन तथा चलचित्र उद्योगको विकास गर्ने उद्देश्यले नेपाल सरकारसँग सहकार्य गरी उक्त फेस्टिबलको आयोजना हुन लागेको क्याराभान नेपालका अध्यक्ष एवम् फेस्टिबलका संयोजक विमल पौडेलले जानकारी दिए ।
चितवनमा पहिलोपटक आयोजना हुन लागेको फेस्टिबलका लागि रत्ननगर नगरपालिकासहित स्थानीय व्यवसायीहरूको प्रशंसनीय साथ रहेको स)ंयोजक पौडेलले जानकारी दिए । फेस्टिबलमा नेपाललगायका आठ देशका उत्कृष्ट फिल्महरूको प्रर्दशन गरिनुका साथै अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना हुनेछ । संयोजक पौडेलले भने, ‘नेपालसहित अन्य देशका फिल्म निर्माता र कलाकारका बीचमा अन्तरक्र्रिया र एकापसमा अनुभव साटासाट हुनेछ,’ ‘यसले यहाँको पर्यटन विकास र नेपालको चलचित्र उद्योगमा सकारात्मक प्रभाव पर्नेछ ।’ धिमा गतिमा हिँडेको नेपालको चलचित्र उद्योगलाई चलायमान बनाउन अब गरिनुपर्ने प्रयासका बारेमा कलाकार तथा निर्माताहरुका बीचमा अन्तरसंवाद गरिने उनले जानकारी दिए ।
महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्तर्क्रिया कार्यक्रम हुने छ । सम्मेलनमा ८ राष्ट्रका सेलिब्रेटी कलाकार समेत आउने छ । फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरु बीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने फेस्टिबलमा एक सय बेशी स्टलहरू रहने र स्थानीय खानाका परिकारसहित हस्तकलाका स्थानीय उत्पादन, चलचित्र विकास बोर्ड तथा अन्य फिल्मसम्बन्ी संघसंस्थाहरूको जानकारीमूलक स्टलहरू रहने आयोजकले जानकारी दिए । फेस्टिबल सहसंयोजक तथा रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले कोरोना र आर्थिक मन्दीले थला परेको सौराहासहित मुलुकको पर्यटनको विकास गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका वडाध्यक्षहरू र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो भने चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीलगायतले धारणा राखेका थिए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार फेस्टिबल सम्पन्न गर्नका लागि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस