चितवन : भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष २०२४ आउन अब ४० दिन मात्रै बाँकी छ । भ्रमण वर्षलाई सफल पार्न महानगरका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीलगायतको महानगरको टिम निकै क्रियाशील छ । भ्रमण वर्षकै पूर्वसन्ध्यामा चितवनको पटिहानीमा ८५ करोड रुपैयाँ लगानीमा रिभर ब्यांक जंगल रिसोर्टको निर्माण गरिएको छ । अँग्रेजी नयाँ वर्ष २०२४ मा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भरतपुर–२२ पटिहानीमा निर्माण भएको रिसोर्ट ५ विघा क्षेत्रफलमा फैलिएको छ, भरतपुरबाट १८ किलोमिटर टाढा रहेको रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको किनारमै अवस्थित छ ।
विशेषगरी वाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट बनाइएको सञ्चालक दीपेन्द्र जोशीले बताए । उनले भने, ‘विगत ४ वर्षबाट निर्माण थालिएको रिसोर्ट आगामी जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गरिने छ । आफूहरुको १६ वर्षदेखिको हस्पिटालिटी अनुभवलाई निरन्तरता दिन ‘हाइ इन लक्जरी रिसोर्ट’का रुपमा यसलाई निर्माण गरिएको हो । चितवनको पर्यटकीय केन्द्र पटिहानी क्षेत्रलाई पर्यटन उद्योगसँग जोड्न र निकुञ्जको अवलोकन गराउने गरी रिसोर्ट निर्माण गरेको उनले बताए ।
यसअघि भरतपुर–२३ जगतपुरमा टाइगरल्याण्ड रिसोर्ट सञ्चालन गरेका जोशीले अहिले पटिहानी क्षेत्रबाट निकुञ्जको अवलोकन गरी मनोरञ्जन लिन रिसोर्ट तयार गरेको जानकारी दिए। निर्माण सम्पन्न हुनै लागेको रिसोर्टमा ४६ कोठा छन्। रिसोर्टमा दुई वटा स्वीट, २४ वटा प्रिमियम र ८ वटा नर्मल कोठा छन्। त्यसैगरी अन्य १० वटा स्ट्याण्डर्ड कोठा तयार गरिएका छन्।
रिसोर्टमा दुईवटा सुविधासम्पन्न हल छन् । प्रत्येक हलबाट एकपटकमा सय जनालाई सेवा पुर्याउन सकिने जोशीले बताए । रिसोर्टमा एउटा रेष्टुरेन्ट, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा र गार्डेनको सुविधासमेत छ’ रिसोर्टमा ७० जनाले रोजगारी प्राप्त गर्ने छन्,’ सञ्चालक जोशीले भने, ‘रिसोर्टको भिल्लाको बाहिरी आकृति तथा आन्तरिक साजसज्जा थारू संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निर्माण भएको छ ।’ स्थानीय शैली, जंगल र नदी किनारमा भएको रिसोर्टमा ३४ वटा कोठा राप्ती नदी र निकुञ्जतर्फको अवलोकन गर्ने गरी निर्माण गरिएका छन् ।
रिसोर्टका प्रायजसो भिल्लाबाट राप्ती नदी र निकुञ्जको दृश्य देख्न सकिने सञ्चालक जोशीले जानकारी दिए । असाधारण आतिथ्य, विश्वस्तरीय सुविधा र अतुलनीय प्राकृतिक सौन्दर्यले अतिथिलाई विलासी र अविस्मरणीय अनुभव प्राप्त हुने गरी रिसोर्ट तयार भएको उनले बताए। उनले विश्व प्रसिद्ध गन्तव्य बन्न र वातावरण दिगोपनमार्फत पर्यटन उद्योगमा उत्कृष्टताको विरासत कायम राख्न रिसोर्ट सफल हुनेछ दाबी गरे ।
चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेनको रिसोर्ट व्यवस्थापन :
रिसोर्ट व्यवस्थापनको जिम्मा चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेनले गर्ने गरी नोभेम्बरमा सम्झौता गरिएको छ। आगामी ३० वर्षका लागि विन्डमसँग व्यवस्थापन सम्झौता गरिएको छ । विण्डम गार्डेनका विश्वभर ९ हजार ५ सय आउटलेट छन् । विश्वमा नम्बर १ व्यवस्थापन ब्रान्ड हो यो, जोशीले भने, ‘रिभर भ्यू रिसोर्ट भएको र अमेरिकन व्यवस्थापक ब्रान्ड भएकाले विश्वका पर्यटक र विशेष गरी यूरोपियन तथा अमेरिकन पर्यटकको रोजाइमा पर्ने छ, विश्वको हस्पिटालिटी क्षेत्रमा नम्बर वान चेन ब्रान्ड भएकाले यसले चितवनको पर्यटन उद्योगको विकासमा सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ ।
‘पछिल्लो समय बाह्य पर्यटकका लागि राष्ट्रिय निकुञ्जको किनारमा राखेर सेवा प्रदान गर्न सकिने भएसँगै पटिहानी रोजाइमा परेको छ,’ जोशीले भने, ‘पर्यावरण पर्यटन, डुंगा, जंगल सफारी, थारू भिलेज टुर, थारु कल्चरल डान्स र चितवन निकुञ्जको वातावरणले आकर्षण थपेको छ।’ यो रिसोर्ट भरतपुर भ्रमण वर्षमा आउने र केही धेरै रकम खर्च गर्न सक्ने पर्यटकहरुको पहिलो रोजाइमा पर्ने विश्वास लिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस