चितवन, पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव भड्कन खोजेको भन्दै चितवनका विभिन्न क्षेत्र र पेसा आवद्ध नागरिक समाजका व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले आज भरतपुरमा गरेको ‘मानवअधिकार सम्बद्र्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
चितवनका मानव अधिकारकर्मी, बार एशोसिएसन, पत्रकार महासंघ, प्राध्यापकहरु र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले धरान र नेपालगञ्जमा भएको सामाजिक सद्भाव भड्काउने घटनाहरु सामाज असंवेदनशिल बन्दै जानुको परिणाम भएको बताएका छन् । उनीहरुले समाजको वाचडग मानिएको सञ्चारक्षेत्रको भूमिका अझ प्रभावकारी हुनुपर्ने सुझाव दिएका छन् ।
चितवनका विभिन्न नागरिक समाजका प्रतिनिधिहरुले उठाएका सवालमा आफ्नो विचार राख्दै ईन्सेकका केन्द्रीय अध्यक्ष डा कुन्दन अर्यालले पछिल्लो समयमा मानव अधिकारको परिभाषा बदलिँदै गएकोले सञ्चार क्षेत्र पनि नयाँ जिम्मेवारीका साथ संवेदनशिल भएर अगाडि बढ्नुपर्ने विचार राखे । उनले भने, ‘ देशमा युद्ध सकिएर गोली नचल्दैमा मानव अधिकारकर्मीहरुको भूमिका सकिँदैन । थप नयाँ भूमिकाहरु देखिएका छन् । जलवायु परिवर्तनले मानव समाजमा पारेको असर, सांस्कृतिक अधिकारहरु पनि मानव अधिकारसँग जोडिएर आएको छ । ’ उनले समाज असंवेदनशिल बन्दै गएको कारणले
विभिन्न जातीय र धार्मिक द्वन्द्वको खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । समाजमा द्वन्द्व सिर्जना गर्ने संवेदनशिल समाचार प्रकाशन तथा प्रसारण गर्दा सञ्चार माध्यमहरुले राम्रोसँग जिम्मेवार बनेर सत्यतथ्य बुझेर सम्पादित समाचार प्रसारण गर्नुपर्ने उनले बताए । इन्सेक अध्यक्ष डा अर्यालले हिजोका द्वन्द्वरत पार्टीहरु पालैपालो सत्तामा पुग्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको विचार राखे । उनले भने, ‘ द्वन्द्वको घाउ निको नगरी दिगो शान्ति स्थापना हुन सक्दैन । मारिएका निहत्था नागरिकले अझै न्याय पाएनन् । सबै पार्टीले सत्तामा पुग्ने मौका पाए पनि दिगो शान्ति स्थापना हुन सकेन । दलहरु इमान्दार बन्न सकेनन् ।’
डा अर्यालले सामाजिक सद्भाव कायम गर्ने व्यक्तिगत र सामुहिक जिम्मेवारीलाई नागरिक समाजले बिर्सन नहुने बताए । नेपालमा फौजदारी न्यायप्रणालीमा समस्या देखिएकोमा उनले चिन्ता व्यक्त गरे । शक्तिशाली व्यक्तिहरुले मात्र न्याय पाउने भूगोलमा ठगिएको व्यक्तिहरुले न्याय नै नपाउने अवस्था आउनु चिन्ताजनक विषय भएको उनले बताए ।
कार्यक्रममा बार एशोसिएसन चितवनका अध्यक्ष खगराज कँडेलले नेपाली समाज नकारात्मकतामा बढी केन्द्रित हुँदै गएको बताए । उनले मिडियामा पनि चर्काे बोल्ने बिक्ने अवस्था आएको बताए । उनले भने, ‘ द्वन्द्वका घाउको पूर्णरुपमा निको नभएसम्म फेरि पनि बल्झिन सक्छ । चेतनाको स्तरमा नेपाली समाज धेरै पछाडि रहेको छ । दर्शक बढाउने सवालमा मिडियामा विषयवस्तु मोड्ने, छिटो बन्ने प्रतिस्पर्धा गर्दा समाजमा नकारात्मक असर पर्ने कुरालाई मिडियाले बिर्सन थालेको छ ।’
कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले राम्रो समाचार लेखे पनि पढ्ने मानिसको संख्या घट्दै गएको र मानिसहरु युट्युब तथा फेसबुकमा केन्द्रित हुँदै गएको विचार राखे । उनले व्यवसायिक मानिसहरु समस्यामा पर्दे गएकोले आत्महत्या गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा माइती नेपालका ईश्वर गिरी, पत्रकारहरु सुरेशचन्द्र अधिकारी, कृष्ण खनाल त्यसैगरी अधिवक्ताहरु मुकुन्द दाहाल, व्यवसायी सिरिष पन्त, अधिवक्ताहरु पवित्रा सुवेदी, सञ्जय चौधरी, एनजीओ फेडेरेसन चितवनका सचिव रामचन्द्र आचार्यलगायतले देशमा मानव अधिकार हननका घटनाहरु बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले दिनदहाडै खुँडा हान्ने व्यक्तिलाई राष्ट्रपतिबाट आममाफी दिनुले विधिको शासनको धज्जी बढाएको बताएका छन् । समाजमा बढेको चरम निराशावादी प्रवृत्ति, आक्रोश, असहिष्णुता, लोकरिझ्याइ, अवसरवादी प्रवृत्तिनै वर्तमान समाजको चुनौती रहेको बताएका थिए । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको संयोजकत्वमा अन्तरक्रिया भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस