चितवन, साउन १९ : भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले भरतपुर अस्पताललाई दिन करोडौँ रुपैयाँ बाँकी हुँदा समेत आनाकानी गरेको छ । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेजले झण्डै साढे चार करोड रकम तिर्न बाँकी छ । भरतपुर अस्पतालका सह लेखापाल हरि लामिछानेका अनुसार मेडिकल कलेजले दुईबर्षदेखि भाडा तिरेको छैन । असार मसान्तसम्म कलेजले बेरुजु रकम सहित ४ करोड ३१ लाख ५६ हजार १ सय ५५ रुपैंया तिर्न बाँकी छ । कलेजले बेरुजु रकम बाहेक असार मसान्त सम्मको १ करोड ११ लाख ५६ हजार १ सय ५५ रुपैंया भुक्तानी गर्न बाँकी रहेको लामिछानेले जानकारी दिए ।
कलेजले अघिल्लो आर्थिक २०७८/७९ कै २० लाख रुपैयाँ भाडा रकम भरतपुर अस्पताललाई तिर्न बाँकी छ । लामिछानेका अनुसार गत आर्थिक बर्ष २०७९/८० को एक रुपैंया पनि भुक्तानी कलेजले गरेको छैन । सो बर्षको भाडा रकम कलेजले ९१ लाख ५६ हजार १ सय ५५ रुपैंया बुझाउनु पर्ने छ । तर कलेजले यो आर्थिक बर्षमा साटिनेगरी चेक दिएर टारेको छ । उसले २०८०/८१ सम्मको भाडाका लागि १ करोड २५ लाख बराबरको २२ थान चेक भरतपुर अस्पताललाई उपलब्ध गराएको लामिछानेले बताए । सबै चेक पछि साटिनेगरी मात्रै मेडिकल कलेजले अस्पताललाई उपलब्ध गराएको छ । तर अस्पतालले भने गत आर्थिक बर्षसम्म भाडा रकम चुक्ता गर्नुपर्ने र चेकले नहुने भन्दै मेडिकल कलेजलाई पत्र काटेको छ ।
यस्तै महालेखाले बेरुजु देखाएको ३ करोड २० लाख रुपैंया पनि मेडिकल कलेजले तिर्न आनाकानी गरेको छ । तिर्न नपर्ने दाबी गर्दे मेडिकल कलेजले अदालतमा मुद्दा दर्ता गरेको थियो । तर अदालतले मुद्दा खारेज गरेपनि अहिलेसम्म कलेजले पैसा नतिरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक भाडा तिर्न पत्राचार गर्दा पनि मेडिकल कलेजले अटेर गरिरहेको छ,हामीले यो जनकारी मन्त्रालयसम्म पु¥याएका पनि छौं ।’ उनले मन्त्रालयतहबाट ताकेता नहुँदासम्म आफुहरु निरिह भएर बस्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।
विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको रु एक लाख, प्रतिवर्ष थप सहयोग रु १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ । कलेजले नौ बिघा जग्गा भाडामा लिएको छ । नियमित भाडा रु नौ लाख तिरे पनि थप सहयोग र बढेको रकम नतिरेर खप्टिदै जाँदा बक्यौता धेरै भएको हो । भरतपुर अस्पतालले आफ्नो परिसरमा १० धुर जग्गालाई मासिक लाखौं भाडा लिँदै आएको छ । स्वास्थ्य विभागको आग्रहमा भरतपुर अस्पतालले पुरानो मेडिकल कलेजलाई रकम तिर्न पटकपटक ताकेता गर्दा पनि कलेजले अटेर गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । उनले सम्झौता अनुसार काम नहुँदा अस्पताललाई ठूलो क्षति पुगेको बताए । कलेजका निर्देशक डा मनोहर प्रधानले भाडा तिर्नका लागि भरतपुर अस्पताललाई चेक काटिसकेको बताए । उनले बेरुजु रकमको विषयमा भने चक्रिय व्याजका कारण तिर्न समस्या भएको बताए ।
भरतपुर अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै विसं २०५१ मा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशनसँग सम्झौता गरेको थियो । सो सम्झौतापश्चात अस्पतालले नौ बिघा जग्गा ४९ वर्षका लागि भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ । तत्कालिन समयमा स्वास्थ्य सेवा विभागले एक विघाको ५० हजार रुपैंयामा भाडामा दिने निर्णय गरेको थियो । त्यसलाई २०६४ सालमा परिमार्जन गर्दै मासिक एक लाख रुपैंया बनाइएको थियो । त्यसैगरी कर्मचारीले पाउने २५ प्रतिशत प्रोत्साहन भत्ता कटाएर एकमुष्ट १५ लाख अनुदान दिन मेडिकल कलेजले सुरु गरेको थियो । त्यसपछि भाडा दरको बिषयमा पुनरावलोकन भएको छैन । लिज ऐन २०७१ र संसोधन ऐन २०८० अनुसार कार्यान्वयन गर्नका लागि भरतपुर अस्पतालले ताकेता गरेपनि मेडिकल कलेज यस ऐन अन्तर्गत आउन मानेको छैन । यो ऐन कार्यान्वयन भए मेडिकल कलेजले भरतपुरलाई बार्षिक झण्डै एक करोड ३६ लाख ८० हजार रुपैंया बराबर भाडा रकम तिर्नुपर्ने हुन्छ । तर अहिले मेडिकल कलेजले बार्षिक जम्मा ९ लाख रुपैंया मात्र तिर्ने गरेको छ । ऐनमा मालपोतको मूल्याङकन अनुसार एक प्रतिशत लिज रकम लिन पाउने व्यवस्था छ । पटक–पटक फेरिएका अस्पताल विकास समितिले सम्झौता पुनरावलोकनका लागि आवाज उठाउँदै आएपनि कार्यान्वनय हुन सकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस