चितवन, १५ साउन । कडा खालको डेङ्गु रोगमा मानिसको मृत्यु समेत हुन सक्ने कन्सल्टेन्ट फिजिसियन डा. बिमल पौडेलले बताउनु भएको छ । मौलाकालिका अस्पताल भरतपुरमा कार्यरत डा. पौडेलले कडा खालको डेङ्गुमा विस्तारै शरीरमा पानीको मात्रा कम भएर, प्रेसर घट्दै जाने र अरु अंगहरुमा असर पारेर बिरामीको मृत्यु समेत हुन सक्ने बताउनु भएको हो । कान्तिपुर हेल्थसँग कुरा गर्दै डा.पौडेलले भन्नुभयो “त्यसैले कडा खालको डेङ्गु कस्तो हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।” प्रस्तुत छ डा. पौडेलसँग गरिएको कुराकानीः
डेङ्गु रोग विगतमा तराई क्षेत्रमा मात्रै फैलिने गरेको थियो । यो विस्तार पहाड हुँदै केही हिमाली जिल्लामा पनि अहिले देखिन थालेको छ । गतवर्ष काठमाण्डौंमा विकराल रुप लियो भने तराईमा पनि यसले धेरै दुःख दियो । यस पटक पूर्वबाट फैलिंदै धरानमा धेरैलाई संक्रमित गर्नुका साथै केहीको ज्यान समेत लिएको छ । डेङ्गु काठमाण्डौं र केही दिनदेखि चितवनमा पनि देखिएको छ र बढ्दो क्रममा रहेको छ ।
डेङ्गु भनेको एक किसिमको भाईरस हो, जसलाई डेङ्गु भाईरस भन्छौं । यो डेङ्गु भाईरस मानिसमा सरेपछि डेङ्गु रोग देखिन्छ । डेङ्गु भाईरस लामखुट्टेको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । लाखुट्टेको पनि एडिज एजिप्टाई जातको लामखुट्टले मात्रै डेङ्गु सार्दछ । डेङ्गु संक्रमित लामखुट्टेले हामीलाई टोकेपछि रगतमा भाईरस संक्रमण हुन्छ ।
सबै लामखुट्टे एडिज एजिप्टाई हुँदैनन्, सबै लामखुट्टेले टोक्दैमा डेङ्गु हुँदैन । एडिज एजिप्टाई जातको लामखुट्टेले टोक्दा बित्तीकै सबैलाई डेङ्गु हुन्छ भन्ने हुँदैन । यो लामखुट्टे पनि डेङ्गु भाईरसबाट संक्रमित भएको हुनुपर्छ । अथवा यो लामखुट्टै संक्रमित मानिसलाई टोकेर स्वस्थ मानिसलाई टोक्यो भने सर्न सम्भावना रहन्छ । एडिस लामखुट्टेले चार जनालाई टोक्दा एक जनालाई मात्रै डेङ्गु हुन्छ । डेङ्गु भएका मध्ये पनि सबैलाई गाह्रो हुने अवस्था आउँदैन । केहीलाई मात्रै कडा खालको डेङ्गु हुन्छ ।
एडिज एजिप्टाईजातको लामखुट्टे बिहानपख र साँझपख बढी सक्रिय हुन्छ । तर झाँडी भएको ठाउँमा, अध्यारो कोठाहरुमा दिनमा पनि सक्रिय हुन्छ । यो लामखुट्टेको शरीर र खुट्टामा कालो सेतो छिर्काहरु हुन्छन् ।
डेङ्गु लागिसकेपछि यसका केही लक्षणहरु देखिन्छन् । अकस्मात उच्च ज्वरो आउँछ । ज्वरो १०४ डिग्रीसम्म आएको पाईएको छ । ज्वरोसँगसँगै धेरै टाउको दुख्ने, मांसपेशीहरु दुख्ने, हार्डजोर्नीहरु दुख्ने, आँखाको गेडी दुख्ने र एकदमै थकान महसुस हुने डेङ्गुका लक्षणहरु हुन् । यी सँगसँगै अरु लक्षणहरु पनि थपिंदै जाने हुन्छ ।
कडा खालको डेङ्गु हुने लक्षणहरुमा धेरै पेट दुख्ने, वान्ता हुने, औषधिले पनि वान्ता नरोकिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, छातीमा पानी जम्ने, पेटमा पानी जम्ने, गिँजाबाट रगत आउने, वान्ता गर्दा र दिसाबाट पनि रगत देखिने हुन् । यसका साथै शरीरमा रातो निलो दागहरु देखिन सक्छन् । यस्ता लक्षण देखिएमा कडा खालको डेङ्गुमा परिणत हुन सक्छ । त्यसैले यस्ता खालका लक्षण देखिने वित्तिकै तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
कडा खालको डेङ्गुमा मानिसको मृत्यु समेत हुन सक्छ । कडा खालको डेङ्गुमा विस्तारै शरीरमा पानीको मात्रा कम भएर, प्रेसर घट्दै जान्छ । प्रेसर घट्दै गएपछि अरु अंगहरुलाई पनि असर गर्दछ । मुटु, मृर्गाैलामा असर पर्छ । प्रेसर घट्दै गएपछि विस्तारै मानिसले होस् गुम्दै जान्छ । बिरामी शिथिल हुन्छ र उसको ज्यान समेत जान सक्छ । त्यसैले कडा खालको डेङ्गु कस्तो हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
सबैलाई कडा खालको डेङ्गु हुँदैन । बीस जनालाई डेङ्गु लागेको छ भने एक जनामा कडा खालको डेङ्गु हुन्छ । कडा खालको डेङ्गुको लक्षणहरुका आधारमा छुट्याउन सक्छौं ।
एक पटक डेङ्गु भएर निको भएकालाई दोस्रो पटक डेङ्गु लाग्यो भने कडा खालको हुने सम्भावना बढी हुन्छ । डेङ्गु भाईरसका चार प्रजाति हुन्छन् । एउटा प्रजातिले लागेको छ भने अर्काे प्रजातिले डेङ्गु लाग्ने सम्भावना रहन्छ ।
डेङ्गु ज्वरो निको भएपछिको दुई दिनलाई क्रिटिकल पिरियड भनिन्छ । त्यो समयमा कडा खालको लक्षणहरु देखिए भने कडा खालको डेङ्गु रोग लाग्न सक्छ । त्यसैले ज्वरो निको भएपछि पनि सतर्क हुनुपर्छ । अब ठीक भयो भनेर लापरवाही गरियो भने झन् कडा खालको डेङ्गु हुन सक्छ ।
कतिपय उपचार गर्दागर्दै पनि कडा खालको डेङ्गुमा गएको र ज्यान समेत गएको देखेका छौं । दोस्रो पटक डेङ्गु भएकाहरुलाई उपचार गर्दागर्दै पनि कडा खालको डेङ्गुमा गएर ज्यान समेत गएको छ । त्यसैले डेङ्गु लाग्नबाट बच्नु नै उत्तम उपाय हो ।
डेङ्गु लागिसकेपछि सबैलाई गर्ने उपचार एउटै हुन्छ । कम लक्षण भएकालाई एउटा औषधि, कडा खालको लक्षण भएका कडा खालको औषधि चलाएर ठीक हुने भन्ने होइन । डेङ्गु रोगमा एन्टीबायोटिकको कुनै रोल हुँदैन, हामीसँगै भ्याक्सिन छैन त्यसैले सपोर्ट ट्रिटमेन्ट मात्रै गर्ने हो । जुन जुन लक्षण देखिन्छन्, त्यसबाट सजिलो बनाउने उपचार गर्ने हो । गाह्रो भएको क्षणलाई औषधि दिएर सजिलो बनाउने मात्रै हो ।
धेरैजसोलाई साधारण खालको डेङ्गु नै हुन्छ । ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण मात्रै हुन्छन् । यस्तो अवस्थामा अस्पतामा भर्ना भएर उपचार गर्नु पर्दैन । घरमा नै साधारण उपचार गरे पुग्छ । घरमा नै धेरै पानी पिउने, आराम गर्ने, ज्वारो आयो, ज्यान दुख्यो भने सिटामोल प्रयोग गर्ने हो । ज्यान धेरै दुख्यो भनेर पेनकिलरहरुको प्रयोग भने गर्नु हुँदैन । ब्रुफिन, निम्स र अरु कडा खालको पेनकिलर प्रयोग गर्नु हुँदैन । किनकि यसले झन् ब्लिडिङ्को खतरा बढाउँछ । त्यसैले जति दुखाई भएपनि साधारण सिटामोल बाहेक अरु प्रयोग गर्नु हुँदैन ।
कडा खालको डेङ्गुका लक्षण छन् भने अस्पताल भर्ना भएर वा चिकित्सकको सल्लाहमा नै उपचार अघि बढाउनु पर्छ । कडा खालको डेङ्गुका लागि पनि विशेष उपचार हुँदैन । यसको कुनै एन्टीबायोटिक औषधि छैन, कुनै भ्याक्सिन (खोप) नेपालमा छैन । उपचार गर्ने भनेको सपोटिङ मात्रै हो । जस्तै पानीको मात्रा कम भयो भने मुखबाट पानी खुवाउने, स्लाईन दिने, ज्वरोका लागि सिटामोल दिने, श्वास फेर्न गाह्रो भयो वा अक्सिजन घट्यो भने अक्सिजन लगाउने जस्ता जे लक्षण देखियो त्यही त्यहीको उपचार गर्ने हो ।
डेङ्गुमा कतिपयलाई सेतो रगतको मात्रा घट्ने र रगत जमाउने तत्वको मात्रा घट्ने हुन्छ । कतिपयले रगत बढाउने भन्दै घरेलु उपायहरु गर्नुहुन्छ । मेवाको पात, बेसार लगायतका घरायसी औषधि खानुहुन्छ । विज्ञानले यसलाई पुष्टि गर्दैन । विज्ञानले यी वस्तु खाँदा रगत बढाउँछ भन्ने पुष्टि नभएको हुँदा ठोकुवाका साथ रगत बढाउँछ भन्ने आधार छैन, यसले कुनै काम गर्दैन भन्ने आधार पनि छैन ।
डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्ने नै हो । यसका लागि घरमा जालीको प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, घर बाहिर निस्किँदा लामा बाहुला भएका कपडाको प्रयोग गर्नुपर्छ । अहिले कतिपय मल्हमहरु पनि आएका छन्, यसको पनि प्रयोग गर्न सकिन्छ । अर्काे भनेको घर र घरवरिपरिका वातावरणमा लामखुट्टे हुर्किने खालको हुनु भएन । सफा राख्नुपर्छ । पानी जम्ने कुनै पनि ठाउँमा लामखुट्टेले अण्डा पार्ने र हुर्किने हुन्छ । त्यसैले लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्नुपर्छ ।
कान्तिपुर हेल्थ बाट साभार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस