चितवन,साउन ८: प्रसुती गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चित्रवनले लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजले नर्सिङ कक्षा सञ्चालन गरेपछि भरतपुर महानगरपालिकाले खाली गराएको छ ।
आज (आइतबार) नगरप्रहरी र सुरक्षाकर्मीसहित पुगेको महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिका ३ स्थित नगरबनमा बनेको भवन खाली गराएको हो । प्रसुती गृह सञ्चालनका लागि महानगरपालिकाले दिएको डेढ विघा जग्गा व्यापारिक लाभमा प्रयोग भएपछि महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको भरतपुर महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकास थापाले बताउनुभयो । उहाँका अनुसार २०५८ सालमा तत्कालिन कार्यपालिकाको निर्णयबाट प्रसुती गृह सञ्चालनका लागि लायन्स क्लब आफ नारायणगढ चित्रवनलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई बर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको उहाँले जानकारी दिनुभयो ।
कलेजले सो भवनमा नर्सिङका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । महानगरपालिकाले दिएको जग्गामा उद्देश्यभन्दा बाहिर गएर व्यापारिक लाभको काम भएपछि बाध्य भएर खाली गराउनुपरेको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले सो भवनबाट स्थानियले समेत सेवा सुविधा नपाएको बताउनुभयो । वर्तमान कार्यपालिकाको निर्णयबाट असार मसान्तसम्म भवन खाली गर्न निर्देशन दिइएको थियो । भवन खाली गराउन पत्रचार गर्दापनि जवाफ नआएपछि बल प्रयोग गरेर भवन खाली गराउनुपरेको वडाध्यक्ष थापाको भनाई छ ।
नगर प्रहरी सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीलाई कलेज सञ्चालन समिति र कर्मचारीहरुले केही समय दिन माग गरेका थिए । तर पटक पटक समय दिइएको र पत्र समेत काटेको भन्दै महानगरपालिकाले बल प्रयोग गरेर भवन खाली गराएको हो । प्रसुती गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कार्यक्रम सञ्चालन गर्न बाध्य भएको कलेज सञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताउनुभयो । उहाँले आन्तरिक छलफलका लागि महानगरपालिकासंग समय माग गरिएको भएपनि बल प्रयोग गरेर सामान निकालिएको आरोप लगाउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस