काठमाडौं, असार २६ : सातौँ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सोमबार विभागीय क्लब त्रिभुवन आर्मीका खेलाडीले दर्शकमाथि कुटपिट गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीले गण्डकी प्रदेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आर्मी र गण्डकीबीच तेस्रो सेट चलिरहँदा सामान्य विवाद भएको थियो ।
आर्मीका खेलाडीले नराम्रो शब्द प्रयोग गरेपछि प्यारापिटमा रहेका दर्शकले खेलाडीमाथि बोतल प्रहार गरेका थिए । आर्मीका खेलाडीले सुरुमा दर्शकलाई कोर्टभित्रबाटै गालीगलौजसँगै चेतावनी दिएका थिए । सयौँ संख्यामा रहेका दर्शकले आर्मीको व्यवहारको प्रतिकार गरेका थिए ।
आर्मीका केही सिनियर खेलाडीले आफूलाई रोक्न सकेनन् । उनीहरू दर्शक बसेको प्यारापिटमै गए । आफूहरूमाथि बोतल प्रहार गर्ने दर्शकलाई कुटे । आर्मीका खेलाडीलाई अफिसियलले समेत साथ दिए । खेलाडी र अफिसियलले दर्शकलाई निर्ममतापूर्वक मुक्का प्रहार गरे । यसअघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले आर्मीका खेलाडी र अफिसियललाई रोक्ने प्रयास गरेका थिए ।
तर, होस गुमाएका आर्मी खेलाडी चन्दको आग्रह नसुनी सीधै दर्शकदिर्घामा पुगेका हुन् । राष्ट्रिय टोलीका धनबहादुर भट्ट क्षेत्री र एक अफिसियलले दर्शकदिर्घामै पुगेर एक दर्शकलाई मुक्का प्रहार गरेका हुन् । साथसाथै, आर्मीको बेन्चबाट कुर्सी प्रहार भएको थियो । आर्मीका हरिहजुर थापा, हरि अधिकारीलगायत खेलाडीलाई सुरक्षाकर्मीले सम्हालेका थिए । आर्मीले सोझो सेटमा खेल जितेपछि तेस्रो सेटमा झगडा हुन पुगेको थियो । तेस्रो सेटमा आर्मी २३–२४ ले पछि रहेको थियो । गण्डकी प्रदेशका खेलाडीले स्पाइकर बाहिरिएपछि आर्मीले अंक प्राप्त गर्यो । खेल २४–२४ को स्थितिमा रहँदा सामान्य विवाद भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस