काठमाडौं, टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका हुन् । कारागारबाट निस्किदा उनलाई फूलमालाले स्वागत गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा कारागार परिसरमा समर्थक तथा कार्यकर्ताहरुको भिड लागेको छ। उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका छन्।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस