काठमाडौं, प्रतिनिधिसभाले सभामुख र उपसभामुख पाएसँगै मुलुक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनतर्फ अघि बढेको छ । संसद्को नेतृत्व सभामुख र उपसभामुख दुवै पद सत्ता गठबन्धनले हात पारेको छ ।
सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए भने उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज इन्दिरा रानामगर निर्वाचित भएकी हुन् । मुलुक अब राष्ट्रपतिको निर्वाचनमा प्रवेश गर्न लागेसँगै उम्मेदवार को बन्ने भन्नेबारे चर्चा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिँदा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो । सो समर्थनसँगै कांग्रेस नेतृत्व राष्ट्रपतिमा दाबी गर्ने तहमा पुगेको छ ।
कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले अघि सारेको उम्मेदवारले नै बाजी मार्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने भनेर अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । उनले राष्ट्रपतिबारे सत्ता गठबन्धनमा सहमति भएर एमालेको भागमा परेको दाबी गरेका छन् ।
राष्ट्रपतिमा सहमति भए अब एमालेले अघि सार्ने उम्मेदवारमा सहमति हुनुपर्ने बताउन थालेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने शक्ति सन्तुलन मिलाउनको लागि पनि एमालेबाहेकको सर्वस्विकार्य व्यक्तित्वको खोजी गरिनुपर्ने भन्दै छलफल थालेका छन् । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र मधेशवादी दलले पनि स्विकार गर्नसक्ने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अघि सार्न खोजेका छन् । भट्टराई संसद्को सक्रिय राजनीतिबाट अहिले टाढा छन् । उनकै जोडबलमा प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भट्टराईको नाममा राष्ट्रपतिको निर्वाचनमा सहमति जनाउन सकिने सिग्नल दिएका छन् । उनीपनि एमालेको पोल्टामा राष्ट्रपति पद नजाओस भन्नेमा छन् । बरु, पूर्व माओवादी नेता बाबुरामलाई नै राष्ट्रपतिमा स्विकार गर्न सकिने देउवाको बुझाई छ । निर्वाचनसम्मको कांग्रेस नेतृत्वको गठबन्धन कायमै रहेको भए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको स्वभाविक उम्मेदवार हुने थिए । तर, अहिले निर्वाचनको गठबन्धन टुटिसकेको छ ।
कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ । अहिले साझा उम्मेदवारको रुपमा स्विकार गर्नसक्ने व्यक्तित्वको बारेमा छलफल भएको छ । अहिले लोसपाका अध्यक्ष महन्थ ठाकुरको पनि नाम राष्ट्रपतिको लागि चर्चामा छन् । ठाकुरको नाममा सहमति नजुटे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाममा पनि छलफल भएको स्रोतको दाबी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस