काठमाडौँ, सरकारलाई विश्वासको मत दिने दलहरूको आज भएको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो दलीय धारणा राखेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने सबै राजनीतिक दल र सांसदहरूलाई धन्यवाद दिए ।
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि सहमतिका साथ कसरी अगाडि बढ्न सकिन्छ भन्ने प्रस्ताव राख्दै सभामुख, राष्ट्रपति लगायतका पदहरूको सम्बन्धमा समेत सहमति गरेर अगाडि बढ्न चाहेको बताउनुभएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा छलफल भए पनि आजको बैठकबाट कुनै ठोस निर्णय भने हुन नसकेको नेपाली काँग्रेसका नेता लेखकले बताए ।
यस्तै बैठकपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिको प्रयास जारी रहेको बताए ।
सञ्चारमन्त्री शर्माले प्रधानमन्त्रीले प्रतिनिधि सभामा अभूतपूर्व समर्थन प्राप्त गर्नुभएकाले आगामी दिनमा पनि दलहरू कसरी मिलेर जान सकिन्छ भन्ने उनको धारणा र विचार रहेको बताए ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका मुख्य सचेतक रमेश लेखक सहभागी थिए।
यस्तै बैठकमा नेकपा एमालेका तर्फबाट अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल सहभागी थिए । यस्तै बैठकमा नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई लगायतका नेताहरू सहभागी थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह लगायतका नेताहरूको पनि बैठकमा सहभागिता रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस