भरतपुर, बागमती प्रदेशका सांसद् उत्तम जोशीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसँग भेटघाट गरेका छन् ।
जोशीले मंगलबार दिउँसो प्राधिकरणको कार्यालयमै पुगेर अधिकारीसँग भेट गरेका हुन् । भेटका क्रममा जोशीले भरतपुर विमानस्थलसँगै जोडिएको भरतपुर–१० स्थित युनिक टोल विकास संस्थाका केही जग्गामा देखिएको समस्या समाधान गर्न अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
सांसद् जोशीले जग्गा विमानस्थलको धावनमार्गमा पर्ने बताउँदै धितो मूल्याङ्कन रोक्दा स्थानीयलाई ठूलो समस्या परेकोले तत्काल समाधान गर्न माग गरेका थिए । उनले प्रदेश सांसद्को हैसियतले आवश्यक समन्वय गर्न आफू तयार रहेको भन्दै छिटोभन्दा छिटो निकास दिन महानिर्देशकको ध्यानाकर्षण गराएका थिए ।
त्यस क्षेत्रमा केही जग्गा विमानस्थलको धावनमार्गमा पर्ने भन्दै धितो मूल्याङ्कनसमेत रोकिएको छ । स्थानीय ध्रुव सुवेदीका अनुसार त्यस क्षेत्रको जग्गाको धितो मूल्याङ्कन रोकिँदा जग्गा राखेर बैंकबाट ऋण लिन नपाउने, खाली जग्गामा घर बनाउन नपाउने र बनाएकाले थप्न नपाउनेजस्ता समस्या रहेका छन् ।
जोशीले यसरी जनता समस्यामा परेको भन्दै समाधानमा ढिलासुस्ती नगर्न पनि आग्रह गरेका थिए । जवाफमा महानिर्देशक अधिकारीले स्थानीय तह र प्रशासनले आवश्यक सहजीकरण गरे छिट्टै समस्या समाधान हुने बताए ।
सांसद् जोशीसँगै भेटघाटमा रहेका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगर आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस