चुनावको मुखैमा नागरिकतासम्बन्धी विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको पाइएको छ । उनी स्वयंले यो कुरा स्वीकारेका छन् ।
लामिछानेका अनुसार, २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा उनी गएनन् । अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएनँ’, लामिछानेले भनेका छन्, ‘त्यसपछि कतै पनि प्रश्न उठेन ।’
आफूसँग नेपालीसँगै अमेरिकी नागरिकता भएका बेला नेपालमा कानुनी प्रश्न नउठेको उनले बताए । हालै निर्वाचन आयोगमा परेको उजुरीको सन्दर्भसमेत नमिलेको उनकाे जिकिर छ । ‘त्यतिखेर दुईवटा नागरिकताको विषय आइदिएको भए एउटा नागरिकता रोज्नुपर्ने हुन्थ्यो वा कानुनविपरीत हुन्थ्यो । दुई नागरिकता भएको समय गुज्रियो, त्यो सन्दर्भ नै मिल्दैन,’ रविले भनेका छन् ।
पर्यटक भिसामा नेपाल छिरेर काम गरिरहेको विषयमा आलोचना भएपछि ४ वर्षअघि उनले अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए । साथै दूतावासमा बुझाएको २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर रकमको रसिद र पासपोर्ट सरेन्डर गरेको पत्र पनि सार्वजनिक गरेका थिए ।
तर, लामिछानेले अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर प्रमाण सार्वजनिक गरेका छैनन् । अमेरिकी नागरिकता त्याग्न पनि त्यहाँकाे कानुनअनुसार विभिन्न चरणका प्रक्रियाहरू पूरा गरेकाे हुनुपर्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस