मतदानको दिन नजिकिएको बेला सत्ता गठबन्धनले मतदाताका नाममा अपिल जारी गर्दै प्रतिगमन पक्षधरलाई परास्त गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपिल जारी गरेका हुन् ।
सत्ता गठबन्धनले हालसम्मको चुनावी अभियानका क्रममा देखिएको उत्साहले चुनाव जित्नेमा ढुक्क रहेको समेत बताएको छ । अपिलमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनु भएबाट गठवन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं ।’
यी चार दलले गठबन्धन गर्नुपर्नाको कारणबारे पनि स्पष्ट पार्दै अझै पनि संविधान र गणतन्त्रमाथि खतरा रहेको औंल्याएका छन् । कुनै पनि दलको नाम नलिई गठबन्धनले भनेको छ, ‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार बिरुद्ध २०७८ असारमा यो गठवन्धन बनाउनु परेको विदितै छ ।’
देउवा नेतृत्वको गठबन्धन सरकारले जनजीविकाका सवालमा राम्रो काम गरेको र अन्तर्राष्ट्रिय सम्बन्ध पनि सन्तुलनमा राखेको गठबन्धनको दाबी छ । चुनावपछि पनि यही गठबन्धनको सरकार बन्ने निश्चित रहेको भन्दै गठबन्धनले यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने बताएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस