काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएपछि अब नयाँ अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ । गत वर्ष असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हाल्दा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए ।
प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका थिए । काँग्रेसबाट खाण र कार्की मन्त्री हुँदा माओवादीले शर्मा र भुसाललाई पठाएको थियो ।
३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका शर्मालाई बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताको आरोप लागेपछि आज पदबाट बाहिरिएका हुन्। आजको प्रतिनिधिसभा बैठकमा छानविनका लागि मार्गप्रशस्त गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाले नै तोकेकी छन् ।
बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको छ । यद्यपि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीबारे बहस सुरु भइसकेको छ ।
शर्माले राजीनामा दिएपछि यसमा पहिलो हक माओवादीकै रहने प्रष्टै छ । तर काँग्रेसमा अर्थमन्त्रालय राखेर गृह वा परराष्ट्र माओवादी केन्द्रलाई दिएर भागबण्डा मिलाउन भने तीव्र लबिङ भइरहेको छ । अर्थमन्त्री काँग्रेसले पाएको अवस्थामा बलियो दाबेदार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की नै देखिन्छन् ।
परराष्ट्रमन्त्री नारायण खड्का पनि अर्थमन्त्रीका लागि सुरुदेखि नै लबिङ गरिरहेका थिए । अर्थमन्त्रालय माओवादीको भागमा परेपछि खड्कालाई परराष्ट्रमन्त्री बनाइएको थियो । माओवादी केन्द्र अर्थको सट्टा परराष्ट्रमन्त्री लिन तयार भएको खण्डमा खड्का अर्थमन्त्री बन्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउछन् ।
केही दिनमै संघ र प्रदेशको चुनाव घोषणा हुने भएकाले नयाँ मान्छेलाई अर्थमन्त्री बनाउने सम्भावना न्यून रहेको बालुवाटार स्रोतले जनाएको छ । यता शर्मा नै पुनः अर्थमन्त्रीका रुपमा आउने सम्भावना पनि उत्तिकै छ ।
उच्चस्तरीय संसदीय छानविन समितिलाई शर्मामाथि छानविन गर्न १० दिनको समय दिइएको छ । उक्त समयमा निर्दोष ठहरिए शर्मा नै अर्थमन्त्रीका रुपमा पुनः सिंहदरबार भित्रिन सक्ने माओवादीका नेताहरु बताउँछन् । संसदीय समितिको छानबिनबाट शर्मा निर्दोष साबित हुने माओवादी केन्द्रका नेता वर्षमान पुनको दाबी छ ।
संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष साबित भए शर्मा नै पुनः अर्थमन्त्री बन्ने बताए । उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ ।
शर्मा पुनः अर्थमन्त्री भएर जाने अवस्था नबने नेता देव गुरुङ अर्थमन्त्री बन्ने तीव्र आकांक्षामा छन् । यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनलाई पनि शर्माको विकल्पका रुपमा हेरिएको छ ।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘सरकार गठन हुँदा नै अर्थ मन्त्रालयमा माओवादी केन्द्रले लिएको हो ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस