काठमाडौं , नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई ठाउँको ठाउँ कारवाहीको नीति लिएको छ।
केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर बागीलाई पार्टीबाट निष्कासित गरिसकेको जानकारी गराउँदै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने, असहयोग गर्नेलाई कारवाही गरिने उल्लेख गरेका छन्।
पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरीत कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय लिएर जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमार्फत पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन कांग्रेसले सम्पूर्ण सदस्यहरुलाई निर्देशानुसार अनुरोध गरेको छ।
कांग्रेसले पार्टीका उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरुको विधान २०१७ (संशोधन सहित) को धारा १३ (४) (ग) बमोजिम पार्टी सदस्यता समाप्त भई विधानको धारा ३४ (४) (क) बमोजिम पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित भएको पनि जनाएको छ। त्यस्ता व्यक्तिहरुको आधिकारिक विवरण केन्द्रले संकलन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस