काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खड्काले आईएको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो ।
खड्का महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरिक्षकका रुपमा कार्यरत थिए ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिका अनुसार खड्काले प्रहरीमा पेस गरेको आईएको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो । खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन् ।
खड्काले उत्तर प्रदेशबाट जारी भएको आईएको झूटो प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
खड्का २०५९ माघ १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । भ्रष्टाचार निवारण ऐन २०१७ को दवाफ १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफ १ अनुसारको कसुर गरेका प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लवबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म उनले पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए । प्रमाणपत्रको विवाद आएपछि उनले पुलिसबाट राजीनामा दिएका हुन् ।
यस्ताे छ विज्ञप्ती
नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्का उपर शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर ।
प्रेस विज्ञप्ति:- मिति २०७८।१०।१२ गते ।
—————————————————-
महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको हुँदा नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस