हेटौँडा एमालेको घुर्कीपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक बुधबार बस्दैछ । कात्तिक १ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्ने प्रस्तावको प्रक्रिया भने सुरू भइसकेको छ । प्रदेशसभाको बैठकको सुरूमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी थिइन् । लगत्तै दलका नेताहरुले आफ्नो पार्टीको धारणा राखेका थिए ।
प्रमुख पार्टीका नेताहरुको धारणा सुनेपछि सभामुख सानुकुमार श्रेष्ठले संसद् आज बुधबारसम्मका लागि सारेका थिए ।मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् ।
प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् । हाल रहेका १ सय ९ प्रदेशसभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसद्को मात्रै साथ छ । यता, गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका राजेन्द्र पाण्डेसँग भने नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी)को १३ र स्वतन्त्र (हाल जसपा)को १ जना प्रदेशसभा सदस्यको साथ रहेको छ ।
प्रदेशसभामा अष्टलक्ष्मी शाक्य आफूले विश्वासको मत नपाउने भएपछि बागमतीकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न चाहेता पनि नेकपा एमालेका ओली पक्षधरले विश्वासको मत लिनुपर्ने भन्दै राजीनामा दिनबाट रोकेको उनीनिकट एक प्रदेश सांसद्ले बताए । मुख्यमन्त्री शाक्यले त आफूले मत नपाउने भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिन्छु भन्नुभएको थियो । तर, एमालेकै सांसद्हरुले गठबन्धनमा कुरा नमिलिरहेकोले सत्ता लम्ब्याउन सकिने भन्दै राजीनामा दिनबाट रोक लगाउनुभयो । त्यसैले उहाँ बाध्य भएर सरकारमा बसिरहनुभएको हो’, उनले भने ।
पदबाट राजीनामा दिने सोचले नै शाक्यले कात्तिक ४ गतेको प्रदेशसभामा सरकारले गरेका कामको फेहरिस्त सुनाएकी थिइन् । उता, विपक्षी दलहरुले पनि मुख्यमन्त्री शाक्यलाई मार्गप्रशस्त गर्न रोक लगाएको आरोप लगाइरहेका छन् । राजीनामा रोकेकै कारण शाक्यले आज बुधबार विश्वासको मत लिन लागेकी छिन् ।
नेकपा एसका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशका तेस्रो मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । एमालेविरूद्धको गठबन्धनले ४ गते नै पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिसकेको थियो । मुख्यमन्त्रीमा गठबन्धनबाट कांग्रेस नेता इन्द्रबहादुर बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो ।
मुख्यमन्त्रीको विषयमा सहमतिका लागि कांग्रेस सहमहामन्त्री प्रकाश शरण गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस)ले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थनसहित हस्ताक्षर संकलनसमेत गरिसकेका छन् । सो प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस