नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रूपैयाँ पर्छ ।उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रूपैयाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए ।
बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ–बुटबल सडकखण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्किबासमा एउटा मात्र सिसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।
यसअघि बाटो विस्तारको काम पूर्णरुपमा सकिएपछि मात्र क्यामेरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहरबजारमा सडक बनेको ठाउँमा क्यामेरा जडान गरिने भएको हो ।
हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारीसाधन चलाउने गरिएकाले त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ । प्रहरी नायब उपरीक्षक शाहले व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न आग्रह गरे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस