हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो मार्गअन्तर्गत भैंसे–भीमफेदी–कुलेखानी सडक–खण्ड भएर हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनलाई तीन दिनका लागि रोक लगाइएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी ड्याम तल सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न लागिएकोले उक्त सडकखण्ड भएर हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न लागिएको जानकारी दिए। उनले सिमखोलामा ह्युम पाइप राखेर ट्रयाक खोल्न समय लाग्ने भएकाले तीन दिनलाई हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारी साधनलाई रोक लगाइएको बताए ।
‘सिमखोलामा सवारीको चाप धान्नै नसक्ने भएपछि अर्को ट्रयाक बनाउन लागिएको छ। त्यसका लागि हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीलाई मात्रै उक्त सडकखण्ड भएर चल्न रोक लगाइएको हो,’ उनले भने, ‘काठमाडौंबाट सोहि मार्ग भएर हेटौँडा आउन भने रोक लगाइएको छैन ।’
उनले हेटौँडाबाट काठमाडौ जाने सवारीसाधनहरुलाई त्रिभुवन राजपथ र कान्तिलोकपथ प्रयोग गर्न आग्रह पनि गरे ।मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडाबाट भैंसे–भीमफेदी–कुलेखानी सडकखण्ड भएर चल्ने सवारीसाधनलाई भैंसेबाटै त्रिभुवन राजपथतर्फ पठाइएको जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस