रत्ननगर नगरपालिकाको बेरुजु गत आर्थिक वर्ष २०७९/८० मा मात्रै दुई करोड दुई लाख ७१ हजार रूपैयाँ छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार रत्ननगरको गत आवसम्मको बेरुजु १७ करोड ५८ लाख २६ हजार रूपैयाँ पुगेको छ ।
गत आवको दुई करोड दुई लाख बेरुजुमध्ये असुल गर्नुपर्ने २० लाख २९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड १७ लाख ९८ हजार, नियमित गर्नुपर्ने ६३ लाख ४४ हजार र पेश्की बाँकी एक लाख रूपैयाँ रहेको छ ।
खरिद सम्झौताको सर्तबमोजिम कार्य सम्पन्न नगरेमा भुक्तानी नदिने कानुनी व्यवस्था छ । रत्ननगरमा ठेक्काको प्रोग्राम अपडेट पेस नगर्ने आठ ठेकेदारबाट जनही एक लाख रूपैयाँ रकम असुल्न महालेखाले निर्देशन दिएको छ । त्यस्तै, तालिमका प्रशिक्षकलाई मापदण्डविपरीत भुक्तानी दिएको तीन हजार ७४० रूपैयाँ असुल गर्न पनि भनिएको छ । कक्षा ८ को परीक्षण व्यवस्थापनमा स्वीकृत बजेटभन्दा बढी खर्च भएको तीन लाख ९५ हजार २४९ रूपैयाँ असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखाले भनेको छ ।
निःशुल्क पाठ्यपुस्तकका लागि पहिलोपटकमा ७५ प्रतिशत र दोस्रोपटकमा २५ प्रतिशत अनुदान विद्यालयहरुलाई निकासा दिनुपर्ने व्यवस्था छ । पालिकाले निकासा गरेको रकमभन्दा कम रकमको पाठ्यपुस्तक खरिद गर्ने दुई विद्यालयबाट दुई लाख ७७ हजार २२० रूपैयाँ असुल गर्न महालेखाले भनेको छ । ‘मोहना माविबाट २४ हजार ८४९ र नेपाल माविबाट दुई लाख ५२ हजार ३७१ रूपैयाँ असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने’ भनी प्रतिवेदनमा उल्लेख छ ।
सुत्केरी बिदामा सट्टा शिक्षक राख्न नपाइने व्यवस्था छ । पालिकाले कानुनविपरीत शिक्षिकाहरु सुत्केरी बिदामा बसेको अवस्थामा सट्टा शिक्षक नियुक्त गरी भुक्तानी दिएको पाइएको छ । कानुनविपरीत दिइएको भुक्तानी ३७ हजार ५०० रूपैयाँ असुल गर्नुपर्ने महालेखाले भनेको छ । त्यस्तै, पालिकाले नियमविपरीत सोझै खरिद गरेका विभिन्न पाँच विद्यालयलाई १३ लाख ६६ हजार ६८६ रूपैयाँ भुक्तानी दिएको छ ।
कानुनविपरीत अनुगमन भत्ता
विभिन्न विद्यालयको विभिन्न मितिमा अनुगमन गरेको भनी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलगायत १० जनाले ४० हजार ८०० रूपैयाँ बुझेका छन् । उक्त रकम असुल गर्नुपर्ने महालेखाले बताएको छ ।
यस पालिकामा काम सम्पन्न नहुँदै कार्यसम्पन्न प्रतिवेदन तयार पारी बजेट खर्च गरेको पाइएको छ । पालिकाले ९० प्रतिशतभन्दा कम काम भएको अवस्थामा समेत कार्यसम्पन्न प्रतिवेदन तयार गरी अन्तिम भुक्तानी दिएको पाइएको हो । बकुलहर अस्पताल चोक सडक निर्माण गरेको इन्द्रदेवी निर्माण सेवालाई १३ प्रतिशत काम बाँकी छँदै २७ लाख ५४ हजार र रत्ननगर अस्पताल पर्खाल निर्माण गरेको श्रृवित इन्फ्रास्ट्रक्चर प्रालिलाई ४३ प्रतिशत काम बाँकी छँदै चार लाख १७ हजार रूपैयाँ भुक्तानी दिएको महालेखाले भनेको छ ।
उपभोक्ता समितिमार्फत नियमविपरीत काम
पालिकाका विभिन्न वडा कार्यालय, वडा कार्यालयको परिसर र स्वास्थ्यकेन्द्रहरु उपभोक्ता समितिबाट निर्माण गर्दा नियमविपरीत उपभोक्ता समितिबाट गराई ५१ लाख रूपैयाँ भुक्तानी दिएको महालेखाले औँल्याएको छ । त्यस्तै, जेके निर्माण सेवा र चितवन चिउरा मिलदेखि बुद्धटोल थला निर्माण गरेको उपभोक्ता समितिलाई सम्झौताभन्दा बढी भुक्तानी दिएको पाइएको छ । सेरिमार्ग बेलचोकदेखि पूर्व उच्च ग्राभेल समितिलाई भुक्तानी दिनुपर्नेभन्दा बढी भुक्तानी दिएको रकम एक लाख चार हजार रूपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
अवकाश पाएका शिक्षकलाई तलब
रत्ननगर नगरपालिकाले अवकाश पाइसकेका शिक्षकको नाममा पनि तलब निकासा गरेको पाइएको छ । शिक्षा नियमावलीमा विद्यालयहरुमा शिक्षकहरुको तलब निकासा गर्दा त्रैमासिक माग फारामका आधारमा निकासा दिनुपर्ने व्यवस्था रहेको छ । पालिकाले पञ्चकन्या माध्यमिक विद्यालय जिरौनामा कार्यरत शिक्षक तीर्थराज सुवेदी २०७९ चैत १ गतेबाट अनिवार्य अवकाश भएकोमा निजलाई तेस्रो चौमासिकको तलबभत्तासमेत निकासा भएकोले अवकाशपछि पनि भुक्तानी भएको ५३ हजार ३४० रूपैयाँ असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस