कास्की : कास्कीको लान्द्रुकमा आयोजित भिर मौरीको मह काढ्ने महोत्सवका बीच कुल १८ जना भिरौटेहरु (भिरबाट मह काढ्ने व्यक्ति) सम्मानित हुनुभएको छ ।यसरी सम्मानित हुनेहरुमा आन्नद पौडेल, घनश्याम चापागाई, नक्कल गुरुङ, खड्गबहादुर मगर, मनबहादुर पुन मगर, भिमबहादुर गुरुङ, भिमबहादुर पुन मगर, अर्जून गुरुङ र जय पौडेल क्षत्री हुनुहुन्छ ।
त्यस्तै स्थानीय जंगवीर क्षत्री, प्रतापबहादुर गुरुङ, भमोरसिंह गुरुङ, देवीलाल भण्डारी, सेते गुरुङ, नन्दलाल भण्डारी, क्षेरलाल गुरुङ, वाल पाध्या र लिला पाध्यालाई पनि मरणोप्रान्त सम्मान गरिएको छ ।
उहाँहरुलाई भिर मौरीका साथै महभिरको संरक्षण गर्दै गाउँको चिनारी बढाउन योगदान पुर्याउनुभएको भन्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी लगायत मूल आयोजक समितिले सम्मानपत्र र दोसल्लासहित सम्मान गर्नुभएको हो ।
तीन दिनसम्म आयोजित महोत्सवका बीच स्थानीय मोदीखोला किनारको कोटेसाङ भिरमा रहेका कुल ३० घार गोलाबाट करिव तीन सय लिटर मह संकलन गरिएको छ । संकलित मह प्रतिलिटर रु. तीन हजारमा बिक्री हुने गर्दछ ।
मर्दी तथा अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने उक्त स्थानमा आन्तरिक तथा बाहृय पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिनुभयो ।लान्द्रुकमा प्रत्येक वर्ष कात्तिक-मंसिर तथा वैशाख-जेठमा गरी २ पटक भिरमौरीको मह काढ्ने गरिन्छ ।
भिरबाट मह निकाल्नका लागि स्थानीयहरुले डोरीको भर्याङ, मह संकलन गर्ने भाँडो, गोला तान्ने डोरी, छाती र कम्मरमा रोटा(सेफ्टी बेल्ड), गाग्री, डोको, डेक्ची लगायतका सामग्री प्रयोग गर्ने गर्नुभएको छ । यसवर्ष आयोजित बिहीवार सकिएको महोत्सव तेस्रो संस्करणको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस