चितवन, जेठ ५
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडिविको लगानी फिर्ता जान लागेको बताएका छन्।
चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइनको उद्घाटनको क्रममा शनिबार घिसिङले काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुगेका बताएका हुन्।
‘काठमाण्डौं उपत्यकामा काम सुरु भएको पाँच वर्ष पुग्यो। काम गर्न नपाएर ठेकेदार भाग्ने अवस्थामा छन्। एडिविले काम ड्रप गर्न अवस्थामा पुगेको छ,’ उनले भने ‘आएको योजना फिर्ता हुनु भनेको हाम्रो लागि दुर्भाग्यको कुरा हो।’
उनले काठमाण्डौंको लगानी चितवनमा ल्याएको भए धेरै सजिलो हुने समेत बताए। ‘काठमाण्डौंमा मलाई यति गाह्रो भइरहेको छ। अचेल मलाई यस्तो लाइरहेको छ। वास्तवमा काठमाण्डौंको स्कोप भरतपुरमा राखेको भए मलाई धेरै सजिलो हुने थियो,’ उनले भने ‘काठमाण्डौंमा काम गर्न नै सकेको छैन।’
काठमाण्डौं उपत्यकामा सञ्चालन भएको योजना फर्किनु भनेको त्यहाँका जनताका लागि दुर्भाग्यपूर्ण हुने बताए। ‘भोलि महानगरपालिकालाई नै आवश्यक हुने हो। सुन्दर सिटी बनाउनका लागि तारलाई भूमिगत बनाउनु पनि हो। पोलहरु हट्यो भने महानगरपालिकालाई नै राम्रो हो,’उनले भने ‘यस्तो अवस्थामा महानगरपालिकाले हाम्रा कर्मचारी लगेर थुन्छ भने कसरी विकास हुन्छ?।’
कार्यकारी निर्देशक घिसिङले देशका मुख्य सहरमा विद्युत्को वितरण प्रणाली र सब-स्टेसन विस्तारका लागि अध्ययन भइरहेको बताए। गुरुयोजना अनुसार भरतपुर, पोखरा र बुटवलका सडकमा विद्युतीय सवारी साधनका लागि लक्षित गर्दै इयू र केएफडब्लुको सहयोगमा अध्ययन समेत भइरहेको उनले जनाए।
यी क्षेत्रमा ३३ केभिए प्रसारण लाइनको ठुलो योजना आउने उनको भनाइ छ। विद्युतीय सवारी साधन उपभोक्ताका लागि सस्तो र सर्वसुलभ समेत रहेको उनले सुनाए।
कार्यक्रममा उनले नेपालमा ९९ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेको समेत बताए। चितवनको पहाडी क्षेत्रमा समेत करिब करिब विद्युत्को पहुँच पुगेको उनको दाबी छ।
उनले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत् मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए।
महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सब स्टेसनमा जोड्ने गरी काम भइरहेको उनको भनाई छ।
यस्तै, चितवनको देवनगर सब स्टेसन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३र११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सब(स्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।
देवनगर सब स्टेसनबाट महानगरपालिकाका वडा नं-५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ। सब-स्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ।
वडा नं-११ स्थित १३२ केभी बसेनी सब स्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्याइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस