काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ सदस्यको निर्वाचनको मिति तोकेको छ ।
त्यसका लागि भागबण्डा मिलाउन सोमबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए ।
आज बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए । उनका अनुसार एनसेलको सेयर काण्ड सुन तस्करीसहित विभिन्न विषयमा पनि सामान्य छलफल भएको छ ।
साथै राष्ट्रियसभामा अध्यक्षसहित २० सदस्यको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै गरेको र त्यसका लागि पनि गठबन्धन भित्र सरसल्लाह भएको छ ।
गठबन्धनमा रहेका दलमध्ये मतभार धेरै भएकाले आफूले अध्यक्षसहित नौ सिट पाउनुपर्ने दाबी कांग्रेसको छ । कांग्रेसको प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख सातवटै प्रदेशमा सबैभन्दा धेरै छ । त्यसैले कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने अडान राखेको हो । कांग्रेसले कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठमध्ये र्एकजनालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहेको छ ।
माओवादीले सरकारको नेतृत्व गरेका आधारमा अध्यक्षसहित सात सिट दाबी गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीले आफ्नो खाली रहेको दुई सिटसहित अर्को दुई सिट पाउनुपर्ने माग राखेको छ ।
त्यसका लागि मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । कोशी, लुम्बिनी र मधेस प्रदेशबाट दुई–दुईजना, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीनजना र बागमती प्रदेशबाट चारजना राष्ट्रियसभामा निर्वाचित हुनेछन् ।
सत्ता गठबन्धन दलभित्र भागबन्डाको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्ना दलबाटै राष्ट्रियसभा अध्यक्ष बनाउन कसरत गरिरहेका छन् भने गठबन्धनका सबै दल अहिले भइरहेको भन्दा बढी सिट पाउनुपर्ने दाबी गरिरहेका छन् ।
१९ सीटको लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डाको अन्तिम सहमति बनिसकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस