काठमाडौँ : मंसिर ११ गते बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीको महाधिवेशन जेठमा गर्ने निर्णय गर्यो । त्यसअघि नेकपा एसको महाधिवेशन माघ १४ गते नै गर्ने भनिएको थियो । तर अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारण देखाएर महाधिवेशनलाई जेठमा सारे । नेपाल महाधिवेशन सारेर भए पनि पार्टीको अध्यक्ष त छन् तर आफ्नै सहयोगीको पेलानमा परेका छन् ।
महाधिवेशन सार्नाले माधव नेपालको अध्यक्ष पद त जोगिएको छ तर पार्टीभित्र भने चर्को आलोचना र विवाद सुरु भएको छ । पार्टीभित्रको विवाद र राष्ट्रिय राजनीतिबाट उत्पन्न तरङ्गले तोकिएको महाधिवेशन आगामी वर्षको जेष्ठ तीनदेखि सात गतेसम्म काठमाडौँमा हुने गरि पर धकेलिएको बताइएको छ । नेतृत्व परिवर्तनका लागि छ महिना पर धकेलिएको महाधिवेशनले पार्टीभित्रको आन्तरिक द्वन्द्व र अन्य राजनीतिक घटनाक्रमले समस्या सिर्जना भएको छ । पार्टी सञ्चालनमै धौधौ परेर सकसमा रहेका माधवलाई कार्यकर्ता जोगाउनै मुस्किल पर्ने देखिएको छ ।
पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘माघमा गर्ने भनिएको महाधिवेशन ६ महिना पर धकेलियो विभिन्न बाहान बनाएर, पहिले अध्यक्ष ज्यूले नीति र विधिका कुरा गरेर पार्टी फुटाउनुभयो । अहिले उहाँ पनि पुरानैशैलीमा जानुभयो । यसले कार्यकर्ता सन्तुष्ट छैनन् ।’
पार्टी फुटाएदेखि नै गठबन्धनको पुच्छर बनेको आरोप खेपिरहेका माधवले महाधिवेशनका लागि तयारी नपुगेको र माघमा नै राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि हुने भएकाले पार्टीको महाधिवेशन सार्नु परेको बताउँदै आएका छन् । तर, पार्टीभित्रको प्रभावशाली नेताकै भने यसमा असन्तुष्टि छ । सम्मानित नेता झलनाथ खनाल नेतृत्व फेर्नका लागि माघमा नै महाधिवेशन गर्नु पर्ने मनस्थितिमा रहे पनि पार्टीले उनको इच्छा विपरीत महाधिवेशनको मिति तय गरेको हो । यस निर्णयले खनाल निकट नेताहरू थप चिढिएका छन् ।
यसअघि संगठन विस्तारका लागि भन्दै भन्दै अध्यक्ष नेपाल देशैभर कुदे पनि सोचे अनुसारको उत्साह भने देखिएन । तर अध्यक्ष नेपाल एमाले लगायतका दल परित्याग गरेर लगभग २३ हजार नेताहरू आफ्नो पार्टीमा आएको दाबी गर्छन् । पार्टीको जागरण अभियानका क्रममा तीन लाख ५० हजार जनतासँग सम्पर्क भएको उनको दाबी छ । तर पार्टी अध्यक्ष नेपालको यो दाबी सत्य देखिँदैन, किन की जिल्ला जिल्लामा कार्यकर्ता नै तितरबितर भएको समाचार आउन रोकिएका छैनन् । एकपछि अर्को गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीय स्तरका नेताहरू धमाधम उही पुरानै घर एमालेमा फर्कने क्रम तीव्र छ ।
वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १४ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् भने समाजवादी छोडेर एमाले प्रवेश गर्ने जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको लिस्ट पनि लामै छ । झलनाथ खनाल र रामकुमारी झाँक्रीलगायत पार्टीभित्रका एक पङ्क्तिले एमालेमा जान खुट्टा उचालिरहेको चर्चा ठुलै छ ।
गठबन्धनको भरमा जोगिएला पार्टीको साख ?
माधवलाई एकातिर पार्टीभित्रको आन्तरिक द्वन्द्व र महाधिवेशनको सकस छ भने अर्कातिर सत्ता गठबन्धनमा हुनसक्ने फेरबदल पनि टाउको दुखाइको विषय बनेको छ । पार्टीको साख जोगाउन पनि अध्यक्ष नेपाललाई गठबन्धनकै टेको चाहिएको छ ।
पार्टी चलाउन नसकेको आलोचना भोगिरहेका माधवलाई सत्ता समीकरणमा आउन सक्ने उतारचढावले पनि संकटमा पार्न सक्ने विश्लेषहरु बताउँछन् । राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भन्छन्, ‘माधव नेपालले आफू पदमा रहिरहन र सरकारको स्वाद चखिरहन गठबन्धनको विकल्प छैन । गठबन्धन टुटेको दिन माधव र उनको सिङ्गो पार्टी नै टुट्ने खतरा छ । ’
अहिलेकै समीकरणले माधव नेपाललाई केही असर नगरे पनि देउवा ओली वा ओली प्रचण्डको मिलनले भने पार्टी राष्ट्रिय दलसमेत बन्न नसकेको अवस्थामा एमाले विभाजनपछि पहिलो पटक प्रतिपक्षमा पुग्ने निश्चित हुने उनी बताउँछन् । उनले भने, ‘अहिलेकै अवस्थामा त माधवलाई केही असर पर्दैन तर एमाले अध्यक्ष ओलीको कदम सफल भएमा उनी प्रतिपक्षमा बस्नुको विकल्प छैन ।’
माधवलाई सत्ताबाट बहिर्गमनको बाटो देखाउन ओली निरन्तर लागि परेकै छन् । प्रचण्डसँगको निकटताले माओवादीसँग पार्टी एकताको चर्चा चलिरहँदा माधवले पार्टी फुटको औचित्य पुष्टि गर्न सकिरहेका छैनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस