गल्याङ: सुन्तला उत्पादनमा वृद्धि भएपछि स्याङ्जाका किसान उत्साहित भएका छन् । मौसम अनुकूल भएको र नयाँ बोटमा फल राम्रो लागेका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका-७,सिरौँसा सुन्तला पकेट सञ्चालक समिति अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष २ करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए।
यहाँका ९० प्रतिशत कृषकको मुख्य पेसा नै सुन्तला उत्पादन हो । यस क्षेत्रका युवाहरूले विदेश छोडेर सुन्तला खेती गरिरहेका छन् । अधिकांशको रोजीरोटी नै सुन्तलाबाट चलेको अध्यक्ष भण्डारीको भनाइ छ ।
सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्श लगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ रहेको भन्दै अध्यक्ष भण्डारीले भने, ‘सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो।’ उनले जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरे।
यहाँका कृषकले व्यक्तिगतरुपमा सुन्तला बिक्री गर्दै आएका छन्, बजारको एकरूपता नभएका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएको अध्यक्ष भण्डारीको भनाइ छ । उनले भने, ‘सबै गाउँलेको घरखर्च सुन्तला बेचेरै चलेको छ, सुन्तला व्यवसायमा लाग्ने किसान निक्कै उत्साहित छन्, धेरैले सुन्तला नै बेचेर छोराछोरी पढाउने, दुईचार रुपैयाँ जम्मा गर्ने गरेका छन्।’
अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यस वर्ष २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरेका छन् । ‘अघिल्लो वर्ष २२ लाखको सुन्तला बिक्री गरेको थिएँ’, उनले भने, ‘यो वर्ष मौसम अनकूलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ, आशा छ राम्रो मूल्य पाउने छौँ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस