चितवन, मंसिर १३-
भरतपुरका सहकारीमा लापरवाही बढ्न थालेपछि भरतपुर महानगरले अनुगमन सुरु गरेको छ ।
आफ्नो क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका सहकारीहरुको प्रभावकारी व्यवस्थापनमा सहयोगका लागि महानगरपालिकाले अनुगमन सुरु गरेको हो ।
सहकारीहरुमा व्यापक अनियमितता भएको, आफ्ना नातेदारलाई मनपर्दी ऋण दिएको, ऋण उठाउन नसकेको, भ्रमण र वनभोजमा फजूल खर्च गर्ने गरेका, दर्ता तथा नविकरण नभएको, शेयर सदस्यहरुलाई सूचना नै नगरी साधारणसभा गर्ने गरेको, समयमा लेखापरीक्षण नगरेको जस्ता व्यापक गुनासोहरु महानगरमा आएको छ । नागरिकमा गुनासो बढेपछि महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले बुधबारबाट अनुगमन कार्यलाई सुरु गरेको छ ।
बुधबार महानगरले वडा न २७ र २८ मा रहेका विभिन्न सहकारीहरुमा छड्के अनुगमन गरेको छ । भरतपुर २८ मा रहेको दोभान बचत तथा ऋण सहकारी सस्था, मेघौली मध्यबर्ती बचत तथा ऋण सहकारी संस्था, भरतपुर २७ मा रहेको साना किसान कृषि सहकारी सस्थालगायत अन्य सहकारी संस्थाहरुमा अनुगमन गरेको छ ।
भरतपुरका उपमेयर चित्रसेन अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनलाई निरन्तर र कडाइका साथ लैजाने निर्णय गरेको छ । सहकारीहरुमा देखिएको अनियमितता र अपारदर्शीतालाई आम उपभोक्ताहरुको माझमा प्रष्ट हुने गरी लैजान यो अनुगमन सार्थक हुने उपमेयरले जनाए । उनले भने, ‘यो अनुगमन अब निरन्तर रुपमा जारी रहनेछ ।’ सहकारीहरुमा देखिएको नैराश्यतालाई महानगरपालिकाले अब कडाकका साथ हटाएर कानुनी दायरामा ल्याउने उपमेयरको दाबी छ ।
‘सबैले राम्रो वा सबैले नराम्रो गरेको छैनन् । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारबाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन’ उपमेयरले भने, ‘यसरी गरिने अनुगमन नियमित र आकस्मिक हुनेछन् ।’ उनले सहकारी संस्थाहरु आधुनिक बैंकिङ सेवा दिएर सदस्यलाई सन्तुष्टि प्रदान गर्नुको सट्टा शेयर सदस्यहरुको लगानी नै हिनामिना गर्न तिर लागेको भन्दै त्यस्तो लापरबाही गर्ने छुट कुनै पनि सहकारीलाई नभएको प्रष्ट पारे । नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटिलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारबाही गर्ने गरी महानगरले नयाँ ढंग र नयाँ शैलीबाट सहकारी अनुगमन गरेको छ ।
नेपालको गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम भएको उल्लेख गर्नुहुदै उपमेयर अधिकारीले सहकारीलाई व्यवस्थित र सहकारीको सिद्धान्त अनुसार चलाउन सबै सहकारी संस्थालाई आग्रह पनि गरे ।
सहकारी तथा रोजगार पबर्द्वन शाखाका शाखा प्रमुख रोजी केसीले अनुगमनका क्रममा देखिएका त्रुटिहरुलाई सच्याएर आगामी दिनमा पार्दर्शिताका साथ काम गर्न सहकारीहरुलाई आग्रह गरिन् । केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने निष्कर्ष अनुगमन टोलीले निकालेको छ । अहिले भरतपुर महानगरपालिकामा ३६३ वटा सहकारी सस्थाहरु सञ्चालनमा रहेका छन् ।
अनुगमनमा लेखापाल फडिन्द्र खनाल, शाखाका समन्वयकर्ता सुकदेब ढकाललगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस