काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा एक सयवटा अस्थायी टहरा बनाएर फर्किएको छ। टोलीले जाजरकोटको नलगाढ नगरपालिका-५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेको जनाएको हो।
पौडेलले पार्टीले दिएको जिम्मेवारी पूरा गरेर करिब एक सातापछि जाजरकोटबाट फर्किएको जनाएका छन्। नेपाली कांग्रेसले एक हजार अस्थायी आवास बनाउन सहभागिता जनाउने निर्णय गरेको छ। सोही क्रममा पौडेल परिचालित भएका थिए। अस्थायी घरटहरा निर्माणमा पार्टीको योगदानलाई निरन्तरता दिन पार्टीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको छ।
पौडेलको टोलीले प्रभावित क्षेत्रमा देखेका केही विषय तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ। सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउन उनीहरूले माग गरेका छन्। भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर (पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठूलो अभाव रहेको) सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्न कांग्रेसले जोड दिएको छ। टहरा निर्माणका लागि स्वयंसेवी भूमिकाका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने सुझाव कांग्रेसको छ।
चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामग्री तत्कालै व्यवस्था गर्न कांग्रेस टोलीले सरकारसँग माग गरेकाे छ।
यसैगरी भूकम्पका कारणले प्रभावित बालबालिकाको नियमित अध्ययन अध्यापन अगाडि बढाउन अस्थायी संरचना तथा विद्यालय पुननिर्माण तत्काल गर्नुपर्ने, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनुपर्ने र जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने कांग्रेसको सुझाव छ।
भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने, पुन:निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने र गरिबीको रेखामुनि रहेका नागरिकलाई भैपरी आउने विपत्मा सहयोग गर्न दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने सुझाव कांग्रेसले दिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस