चितवन, मंसिर ७-
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले वीपी कोइराला क्यान्सर अस्पतालभित्रको सरकारी सम्पत्ति माथि जिल्लाका मुख्य राजनीतिक दलहरुले दुरुपयोग गरेको आरोप लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संयोजक कृष्णप्रसाद भुसालले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आरोप लगाइएको हो ।
विज्ञप्तिमा वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भित्रको सरकारी क्वाटरको अनाधिकृत तवरले देशकै प्रमुख पार्टीका जिल्लाका केही पार्टी प्रमुख र प्रदेश सांसदहरूबाट प्रयोग हुनु ज्यादै लज्जास्पद भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ सार्वजनिक सम्पतिको चरम दुरूपयोग, लुट र अनियमितताको पराकाष्टाको यो गतिलो उदाहरण हो । सत्ता र शक्तिको आडमा बिना स्वीकृती र बिना सहमति खुलेआम कानुनको उपहास गर्दै राज्य सम्पत्तिमाथि यो दोहनको ब्रम्हलुट कहिले सम्म ? सम्बन्धित निकाय तैं चुप र मैं चुपको मौनता किन ? गत वैशाख १० को उप– निर्वाचनमा समेत सरकारी क्वाटर भित्रैबाट चुनावी अभियान परिचालन हुँदै गर्दा पनि जिम्मेवार निकायको आँखा नपुग्नु के कुर्चीमा बसेर तलब भत्ता लिनु मात्रै जिम्मेवारी हो ? यस्तो विषयमा गम्भीर हुन र राज्य–सम्पत्ति माथिको दोहोन तुरून्त रोक्न सम्बन्धित व्यक्ति र निकाय समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जोडदार माग गर्दछ ।’
स्वतन्त्र पार्टीको विज्ञप्तिमा पहुँच र गुण्डागर्दीका आडमा यसरी नै राज्य सम्पत्तिमाथि अनाधिकृत रूपमा कब्जा जमाई रहने हो भने अब राष्ट्रिय स्वतन्त्र पार्टी चितवन मुकदर्शक नहुने जनाइएको छ । विज्ञप्तिमा आवश्यक कारबाहीको माग गर्दै कानुनी प्रक्रियामा जाने कुराको अवगत गराउन चाहने जनाइएको छ । त्यसैगरी यातायात कार्यालय चितवनको सवारी चालक अनुमति–पत्र प्राप्त गर्न चाहिने मेडिकल रिपोर्ट बनाउँदा लिइरहेको अत्यधिक शुल्कमा पनि सम्बन्धित निकायको ध्यान जाओस् र खुलेआम आमनागरिक दैनिक लुटिइँरहँदा सम्बन्धित निकाय किंकर्तव्यविमुढ नबनोस् भनेर विज्ञप्तिमा स्वतन्त्र पार्टी चितवनले माग गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस