भरतपुर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुई वटा शवको अझैसम्म पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेपछि प्रहरीले शव चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
अन्दाजी ३५ वर्षको पुरुष र ३० वर्षको महिलाको शवको हुलियाबारे प्रहरीले जानकारी गराएको छ । उचाई ५ फिट ७ ईन्च भएको पुरुषले सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखीने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उचाई ५ फिट ३ ईन्च भएकी महिलाले कलेजी रंगको ट्राउजर, गुलावीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, हात खुट्टामा पिंक रंगको नेल पोलिस लगाएको, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने, बायाँ हातमा नाडीको भित्री भागमा ‘एस’ स्पष्ट देखिने, ‘एम’ वा ‘ए’ स्पष्ट नभएको र धार्मिक चिन्ह जस्तो देखिने बस्तुको ट्याटु खोपेको, बाया खुट्टामा कालो डोरा र दाहिने हातमा रक्षा बन्धन बाँधेको, कानमा पहेँलो धातुको झुम्का लगाएकी प्रहरीले जानकारी दिएको छ ।
शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शव सडिसकेकाले बाहिरबाट हेर्दा चोटपटक ठम्याउन नसकिने उनले बताए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै शरिरको भित्रि वा बाहिरी चोटबारे यकिन हुने उनको भनाइ छ । उनका अनुसार तीन÷चार दिन अगाडि नै अन्यत्र ठाउँमा हत्या गरि मिलनचोकमा ल्याई शव फालेको हुन सक्ने देखिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस