नवलपरासी । नेपालमा रहेको शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको अस्थि धातु राखिएको प्राचीन रामग्राम जस्तै नक्कली स्तूप बनाएर भारतले गलत प्रचार गर्न थालेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
भगवान् गौतम बुद्धका विषयमा यस अघि पनि भारतले विभिन्न दाबी र गलत प्रचार गर्दै आइरहेकोमा पछिल्लो समय रामग्राम स्तुपाको गलत प्रचार र दाबी गरेको हो ।
नक्कली स्तूप बनाएर त्यहाँका स्थानीय संचारमाध्यमलेसमेत अफवाह फैलाउन थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका हुन् । । यस विषयमा तत्काल आवश्यक कदम चाल्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भारतका अधिकारीहरू र भारतीय सञ्चारमाध्यमहरूले केही दिनदेखि रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो । रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित छ । भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेको छ ।
पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले यसको आधिकारिकताका विषयमा बुझ्ने काम भइरहेको र सम्बन्धित मन्त्रालयमा हिजो नै अवगत गराइसकिएको रेडियो नेपाललाई जानकारी दिनुभयो ‘हिजो नागरिक समाजले ध्यानाकर्षण गराउनु भएको छ,हामीले जानकारी गराइसकेका छौँ । हामीले पनि आधिकारिकताका बारेमा अध्ययन गरिरहेका छौ ।’, प्रमुख जिल्लाधिकारी अर्यालले भन्नू भयो ।नेपाल सरकारको प्राथमिकतामा नपर्दा नवलपरासीमा रहेको रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय बनेको अध्यक्ष सैथवारले बताउनुभयो ।
“विश्व सम्पदा सूचिमा सूचीकृतको प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तूपको विकास, संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान नपुग्दा स्तूप ओझेलमा छ , स्तूपको विकास हुने पर्खाइमा रहैकै बेला पछिल्लो केही समयदेखि मित्र राष्ट्र भारतले नक्कली रामग्राम स्तूप खडा गरी रामग्राम स्तूप भारतीय भूमिमा रहेको प्रचारप्रसार गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,भारत सरकारको यस किसिमको दुष्प्रचारप्रति हाम्रो घोर आपत्ति रहेको छ”, उहाँले भन्नुभयो ।
रामग्राम स्तु्प, विश्वकै एक मात्र यस्तो स्तूप हो जहाँ अहिलेसम्म भगवान् बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ । बुद्धको परिनिर्वाण पछि यहाँ राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले पनि चलाउन सकेका छैनन् । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमी टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्को नै रामग्राम स्तूप हो ।
जिल्ला समन्वय समिति प्रमुख यादवले लुम्बिनी विकास कोषका पदाधिकारी तथा भारत सरकारको उत्तर प्रदेश महाराजगन्जका अधिकारीहरूसँग आवश्यक समन्वय गर्ने बताउनुभयो ।
सन् १८९९मा एसियाटिक सोसाइटी अफ बङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाउनुभएको थियो । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भएको थियो।
यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तूपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरूको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्त्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४ को बिचमा उत्खनन् गर्नुभएको थियो । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बीचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरि विकसित भएको निष्कर्ष निकालिएको थियो ।
विश्वभरका बौद्धहरू यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरू तथा काठमाडौँबाट तीर्थयात्रीहरू यहाँ आएर सामूहिक रुपमा बुद्ध पूजा तथा परित्राण पाठ गर्ने गर्दछन् ।
स्तूपको रुपमा करिब १० फिट अग्लो तथा २३।५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ ।
यहाँ वरिपरि घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यस बाहेक प्रवेश द्वारको दुवै तिर मेचहरू सहितको सानो बगैँचाहरू बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्त्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएका छन्।
लुम्बिनीमा जन्मनुभएको भगवान् बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।
बौद्ध ग्रन्थहरूको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उहाँको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यस बेलाका सबै बौद्ध राज्यहरूको बीच ती अस्थिधातुका दानाहरू आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए । पछि उनीहरूले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएको जन विश्वास थियो।
त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप,पावा र कुशिनगरका राजाहरूले लगे । उनीहरूले भगवानबुद्धप्रतिको श्रद्धाअनुरूप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तूप बनाएर बुद्ध धर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूप हो ।
पछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्ध धर्मको महत्त्व बुझी यसलाई सबै देशहरूमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए ।
नेपालमा रहेकाे रामग्राम
बौद्ध ग्रन्थहरूमा उल्लेख भए अनुसार सम्राट अशोकका दूतहरूले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरूले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौँ शताब्दीमा फाहियान र सातौँ शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरूले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।लुम्बिनी बिकास कोष र सम्बन्धित सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लाको एक मात्र नाम चलेको पर्यटकीय स्थल ओझेलमा पर्ने मात्र हैन छिमेकी मुलुकले यसको दुष्प्रचार समेत गर्न थालेकोमा स्थानीयहरू चिन्तित छन् । राम ग्राम स्तूप र पण्डितपुरको संरक्षण र प्रवर्द्धनमा प्रधानमन्त्रीदेखि सरोकारवाला निकायले पटक पटक आश्वासन दिने गरेपनी हालसम्म स्थानीय तहको जोडबलमा मात्र यसको संरक्षण र विकास भएको देखिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस