vचितवन : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जेष्ठ नागरिकहरूको अधिकार सुनिश्चितताका लागि बागमती प्रदेश सरकार लागिपरेको बताएका छन् । ३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिबार भरतपुरमा आयोति विचार गोष्ठीलाई सम्बोधन गर्र्दै मन्त्री जोशीले प्रदेश सरकारले जेष्ठ नागरिक र महिलाको अधिकार सुनिश्चितताका लागि काम गरिरहेको बताएका हुन् ।
जेष्ठ नागरिकको स्वास्थ्य र लालनपालनका लागि समेत सरकारले कटिवद्धरुपमा काम गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘अभिभावकबिना घर अपूरो भएजस्तै जेष्ठ नागरिकबिना देश सञ्चालन गर्न कठिन हुन्छ ।’ सोहीअनुसार राज्य लागिपरेको उनले बताए । जेष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भइरहेको उनको भनाइ थियो । अहिले प्रदेश सरकार र संघीय सरकार जेष्ठ नागरिकको अधिकार सुनिश्चितताका लागि कानुन कार्यान्वयनको क्रममा रहेको बताए । हरेक आन्दोलनमा जेष्ठ नागरिकहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले जेष्ठ नागरिकलक्षित काम गर्दै आएको बताए । उनले भने, ‘हामी जेष्ठ नागरिकका अधिकारप्रति सचेत छाँै ।” जेष्ठ नागरिक भनेको जिउँदो इतिहास भएको उनको कथन थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष भगवती घिमिरे, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, जेष्ठ नागरिक मञ्चकी जिल्ला सदस्य गंगादेवी कोइराला तिवारीलगायतले जेष्ठ नागरीकलाई राज्यले कानुनमा दिएको अधिकार प्राप्त गर्न नसक्नु दुःखद रहेको बताएका थिए । संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सदस्य सञ्जीव पौडेलले जेष्ठ नागरीकको अधिकार तथा जिम्मेवारी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा हाल ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको संख्या ३० लाख रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको झण्डै १० प्रतिशत हुन आउँछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस