काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले सदनमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
थापाले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र सदनमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे । उनले सो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । महामन्त्री थापाले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस