काठमाडौं, साउन १२: हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ । भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो ।
बरामद सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले गिरोहको सेल्टर रहेका कमलपोखरी, बालुवाटार, लाजिम्पाटर पानीपोखरी र ठमेलमा बुधबार छापा मारेको थियो । ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । चिनियाँ गिरोहले सेल्टर लिएको लाजिम्पाटस्थित एक घरबाट दाह्री काट्ने उपकरण (सेभर) बरामद गरिएको छ ।
ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । सामान रेडी ट्रेडले आफ्नै कार्यालय वा तोकिएको गोदाममा लैजानुपर्नेमा चिनियाँ र भारतीय गिरोहले सेल्टर लिएको ठाउँमा पुर्याउनुले तस्करीको सुन व्यवस्थापनकै लागि उक्त फर्म खोलिएको देखिने अनुसन्धान अधिकारीहरूको भनाइ छ । छापा मार्ने क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘विमानस्थल भन्सारबाट जाँचपास भइसकेपछि बरामद सुनभन्दा यो परिमाण धेरै हुन सक्ने देखिन्छ,’ उनले भने ।
रेडी ट्रेडका नाममा मे, जुन र जुलाईमा दाह्री काट्ने उपकरण (सेभर) २ हजार ७ सय थान, ब्रेक सु १ हजार १ सय ८० थान र मेकानिकल मोटर एक थान भित्रिएको विमानस्थल भन्सारको अभिलेखमा देखिन्छ । ती सामान करिब २० क्विन्टलका थिए । भन्सारबाट जाँचपास गरिएका मध्ये सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको थियो । मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी हो । ब्रेक सु चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको देखिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस