विराटनगर असार २३ : विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ ।
प्राधिकरणका विराटनगर प्रमुख सहितको टोलीले शुक्रवार महानगर प्रमुख नागेश कोइरालालाई भेटेर १ महिनाभित्र व्यवसाय, बहाल लगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको छ ।
राजस्व महाशाखा प्रमुख सरोज गौतम, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेललाई साथैमा राखेर प्रमुख कोइरालाले प्राधिकरणको प्रतिबद्धता मागेका थिए ।
प्रमुख कोइरालासितको भेटमा प्राधिकरणको टोलीले १ महिनाको समय मागेको थियो । १ महिनाभित्र पनि नक्सा पास नगर्ने र महानगरलाई तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुका साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लाने सडक समेत बन्द गरिदिने कोइरालाले चेतावनी दिए । महानगरवासीले तिरेको करबाट बनाएको सडकमा टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी महानगरको सडकबाट प्रवेश गर्ने गरेको प्रमुख कोइरालाले बताए ।
प्रमुख कोइरालाले प्राधिकरणले सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवा लिएबापत यात्रुसित कर लिने तर महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस