चितवन, जेठ ३० : गत वैशाख १० गते भएको चितवन क्षेत्र नं.२ को उपनिर्वाचनमा उम्मेदवारहरुले खर्च विवरण बुझाएका छन् । उपनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुल ८ लाख ९८ हजार २२९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
तर उमेदवारले पेश परेको खर्च विवरण थाहा पाएर चितवनका जनता छक्क परेका छन् । उपनिर्वाचनमा २२ जना उमेदवार थिए । उम्मेदवारले व्यक्तिगत खर्च नभएकोदेखि १२ लाख रुपैयाँसम्म खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । स्वतन्त्र र साना पार्टीबाट उठेका उमेदवारको खर्च विवरण भन्दा पनि ठूला र चर्चित पार्टीका उमेदवारको खर्चप्रति जनताले आश्चर्य व्यक्त गरेका छन् ।
‘ठुला पार्टीका उम्मेद्वारहरूका दैनिक ठुल्ठुला र्याली जुलुस देखिन्थे । उनीहरूलाई पेट्रोल खर्च नेताहरूले नै मिलाउँथे । शक्ति प्रदर्शन र भोजभतेर चलेकै हुन्थ्यो,’ भरतपुर ४ का दिवाकर कंडेल भन्छन्– ‘१५ दिनसम्म नेता कायकर्तालाई उनीहरूले पालेका थिए त्यति खर्चमा कहाँ सम्भव हुन्छ ? ’
निर्वाचन पर्यवेक्षक रामचन्द्र आचार्य सामान्यतया उम्मेद्वारहरूले वास्तविक खर्च विवरण लुकाएको आरोप लगाउँछन् । नेताहरुले निर्वाचन आयोगले तोकेभन्दा चार गुणा बढीसम्म खर्च गरेको उनको अनुमान छ । वैशाख ७ गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन थियो । उम्मेदवारहरु प्रचारप्रसारको अन्तिम कसरतमा थिए । गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई भोट माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवा हेलिकप्टरबाट चितवन आएका थिए । उनीहरु यहाँ आउँदा कालिका नगरपालिकामा विशाल आमसभा राखिएको थियो । सर्वसाधरणलाई सार्वजनिक यातायातबाट नेता कार्यकर्ताले जिल्लाका विभिन्न ठाउँबाट ओसारेका थिए ।
त्यतिमात्र कहाँ हो र ? चुनावमा खटिएका कार्यकर्तालाई उम्मेदवारले घरदैलोपछि दैनिक खानाखाजा खुवाउनुपथ्र्यो । चैत्र २० गतेको मनोनयनदेखि नै उम्मेदवारको घरदैलो अभियान सुरु भएको थियो । त्यहाँ निर्वाचन आयोगले २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भने पनि सयौंको संख्यामा कार्यकर्ता जम्मा हुन्थे । अझ उपनिर्वाचनमा केन्द्रिय नेताहरु जिल्लामा नै आएका थिए । उनीहरु ठुल्ठुला होटलमा बसेका थिए । हरेक दिन घरदैलो र सभा समारोहमा खटिने कार्यकर्ता र समर्थकलाई उम्मेदवारले नै खाना खुवाउँथे । बुथ खर्च, झण्डा, ब्यानर, पोष्टर, पर्चा, घोषणापत्र, नमुना मतपत्र, गाडी, फोन लगायत प्रत्यक्ष, अप्रत्यक्ष र अन्य खर्च पनि उम्मेदवारले गर्नुपथ्र्यो ।
त्यस्तै अधिकांश उम्मेदवारले मिडियामा विज्ञापन गर्नेदेखि भिडियो बनाएर सामाजिक सञ्जालमा बुस्ट गरेका थिए । भिडियो तथा समाचार लेख्न छुट्टै जनशक्ति परिचालन गरेका थिए । वितगमा जस्तै पार्टीका नेताहरुले वडातहसम्म सम्पर्क कार्यालय खोलेका थिए ।
।
निर्वाचन आयोगले प्रतिनिधि सभाका एक उम्मेद्वारलाई अधिकत्तम २५ लाखदेखि ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । त्यसमध्ये चितवन २ मा अधिकतम २९ लाखसम्म खर्च गर्न पाउँथे ।
२२ जना उम्मेदवारमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले १२ लाख ५९ हजार पाँच सय रूपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । यसमा पनि जनताले प्रश्न गरेका छन् ।
२८ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा प्रत्येक वडामा एक लाख रुपैयाँ खर्च भएपनि २८ लाख रुपैयाँ आवश्यक पर्दछ । प्रत्येक वडामा सम्पर्क कार्यालय थिए । त्यसैले श्रेष्ठले वास्तविक खर्च नै पेश गरे होलान ? भन्ने यस क्षेत्रका जनताको जिज्ञासा छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस