काठमाडौं, पहिलेदेखि नै राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि अभिव्यक्ति दिँदै आएका काँग्रेस नेता रामचन्द्र पौडेल मंगलबार काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि खुशी देखिएका छन् । गठबन्धन ‘हाइज्याक’ भएको भन्दै त्यसको करेक्सन सुरु भएको उनको भनाइ छ । संसद्मा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर बाहिरिने क्रममा संचारकर्मीसँग पौडेलले भने, ‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’
पौडेल त्यस्ता व्यक्ति हुन् काँग्रेसको भागमा राष्ट्रपति परेको अवस्थामा पौडेलको सम्भावना धेरै छ । पटकपटक प्रधानमन्त्रीको लागि प्रयास गर्दा पनि बन्न नसकेका पौडेल यसपटक भने राष्ट्रपतिको अन्तिम दौडमा छन् । राष्ट्रपतिको लागि आवश्यक नभए पनि उनले संसदीय चुनावमा जितेर पनि आएका छन् । तर उनी चुनाव जितेलगत्तैदेखि राष्ट्रपतिको लविइङमा जुटेका छन् ।
उनले नेपालका राजनीतिक दल एकै ठाउँमा आइपुगेको भन्दै अब एउटै विचार हुनेहरु एकै ठाउँ हुँदै जाने बताएका छन् । यो भनिरहँदा काँग्रेसको भागमा राष्ट्रपति पर्ने र आफू त्यसमा सफल हुने अपेक्षा उनीमा देखिन्छ । कित्ता फेरेर देउवाको पक्षमा पुगेका पौडेलले काँग्रेसको भागमा राष्ट्रपति परेको खण्डमा आधिकारिक उम्मेदवारी पाउने सम्भावना पनि उत्तिकै देखिन्छ । तर सत्ता गठबन्धनमा आबद्ध नरहेको काँग्रेसले एमालेको भागमा परेको राष्ट्रपति आफूले पाउनको लागि गठबन्धन टुटाउनुपर्ने बाध्यता छ । मंगलबार प्रचण्डलाई विश्वासको मत दिनुको पछि यो अभिलाषा पनि देखिन्छ । त्यसैले पनि रामचन्द्र थप आशावादी बनेका हुन् ।
विश्वासको मतपछि उनले भनेका छन् , ‘पाको कुनै कुरा होइन । पदको कुरा महत्वपूर्ण लाग्ने भएको भए ओलीले संसद् विघटन गरेका बेला दौडिएर म चुनाव लड्न जान्थें, त्यसैले मेरा लागि पद भन्दा व्यवस्था प्यारो छ । म यही व्यवस्थाको उन्नयनका लागि काम गर्ने छु ।’ उनले आफूले उठाएका विषयमा सबै दल आएको भन्दै त्यसले आफूलाई सन्तोष मिलेको बताए ।
त्यसो त ओलीले संसद विघटनको मुद्दा अघि बढाएपछि काँग्रेसले समर्थन गरेको भन्ने तर्क पनि बाहिर आएको छ। पौडेलले व्यवस्था बचाउनको लागि नै आफूले राष्ट्रिय सहमतिको सरकार खोजेको बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बन्दा रामचन्द्रले राष्ट्रपति पाउँछन् कि पाउँदैनन् भन्ने बारेमा भने अबको दुई महिना हुने राजनीतिक परिघटनाले देखाउने गर्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस