भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा गठित अनुगमन समितिले चितवन गार्डेन रिसोर्ट (सिजिआर)को अनुसन्धान प्रतिवेदन तयार गरेको छ । सिजिआरले मंसिर २३ गते बिहेका जन्तीलाई खुवाएको खानामा दिसामा पाइने जीवाणु भेटिएको अनुगमन समिति संयोजक शर्माले जानकारी दिए ।
समितिले शुक्रबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सिजिआरलाई तीन लाख रूपैयाँ जरिवाना गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई सिफारिस गरेको छ । समितिले उक्त प्रतिवेदन आइतबार प्रजिअलाई बुझाउने छ । बिहे भोज खाएकाहरु बिरामी भएर अस्पताल भर्ना भएपछि मंसिर २७ गते सिजिआरको अनुगमन गरी दुईवटा किचन सिल गरिएको थियो ।
‘सिजिआरको भान्छामा एकदमै लापर्बाही देखियो । त्यहाँ खाना खाएर बिरामी भएका व्यक्तिमा इकोलाई ब्याक्टेरिया भेटियो । त्यो दिसामा पाइने ब्याक्टेरिया हो’, उनले भने, ‘खानेकुरामा गम्भीर लापर्बाही भएको देखियो । होटलले गुणस्तर कायम गर्न नसकेकोले उपभोक्ता संरक्षण ऐनअनुसार ३ लाख रूपैयाँ जरिवाना गर्नुपर्छ भनेर सिडिओसापलाई सिफारिस गरेका छौँ ।’
होटलमा सरसफाइ र गुणस्तर कायम गर्ने समय दिएर सञ्चालन गर्न अनुमति दिन पनि सिफारिस भएको उनले बताए । सिडिओको आदेशपछि मात्रै होटलको सिल खोलिने उनको भनाइ छ । अनुगमनका क्रममा सिजिआरमा सलाद सफा गर्न प्रयोग गरिने रसायनको नै म्याद गुज्रिएको, भान्छामा उल्लेख्य झिँगा भेटिएको, कामदारको सरसफाइ सन्तोषजनक नरहेको, पिनट बटर र रसबरीको म्याद गुज्रिएको र ढोका तथा झ्यालमा जाली नरहेको पाइएको थियो ।
उक्त होटललाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवाप्रवाह गरेको भन्दै उपभोक्ता अधिकार संरक्षण ऐन, २०७५ को दफा ३९ को १ (ख)अनुसार कारबाही गर्न सिफारिस गरिएको हो । बिहे भोज खाएका ६६ जना उपचारका लागि नेसनल सिटी हस्पिटल पुगेकामा ३६ जना भर्ना भएका थिए । त्यसबाहेक थुप्रैले घरमै बसेर उपचार गरेको पनि पाइएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले बिरामीमा दिसामा पाइने इकोलाई ब्याक्टेरिया देखिएको बताए । बिरामीमा मध्यम खालको ब्याक्टेरिया देखिएकाले ज्वरो आउने, वान्ता हुने, पेट दुख्नेजस्ता लक्षण देखिएको भन्दै उनले कडा खालको ब्याक्टेरिया भएको भए बिरामीको मृत्यु हुने जोखिम रहेको बताए ।
‘मानिस वा जनावरको दिसा खानेकुराको सम्पर्कमा पुगेपछि यो किसिमको ब्याक्टेरिया खानामा फैलन्छ । यो ब्याक्टेरिया पकाएको खानेकुरामा बाँच्न नसक्ने भएकाले काँचो खानेकुरामा सरेको हुन सक्छ’, उनले भने । समग्रमा सरसफाइ नहुँदा नै समस्या देखिएको हुन सक्ने उनले बताए ।
सिजिआरका प्रबन्ध निर्देशक जनार्दन रिजालले होटलमा भएको कमजोरी पत्ता लगाउन आन्तरिकरुपमा पाँच सदस्यीय अनुसन्धान टिम बनाएर काम गरिरहेको बताए । आफूहरुबाट कमजोरी भएको स्वीकार गर्दै उनले सिल खोलिएको एक हप्ताभित्र सरसफाइ र गुणस्तरलाई कायम राख्ने प्रतिबद्धता जनाए । साथै उनले बिहे भोज खाएर बिरामी भएकाको उपचार खर्च होटलले व्यहोरेको पनि जानकारी दिए ।
#अनुगमन समितिका संयोजक सहायक प्रजिअ चिरञ्जीवी शर्माका साथमा अन्य सदस्यहरु ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस