चितवन, विसं २०७६ फागुनदेखि सञ्चालनमा आउने भनेको सानो पानी जहाज (क्रुजसीप) सञ्चालनमा नआई नारायणी नदी किनारमा अलपत्र परेको छ ।
कहिले नीतिगत विषय, कहिले कोरोना र कहिले आर्थिक कारण देखाउँदै निर्माण कम्पनीले बिगत तीन वर्षदेखि सञ्चालन गर्न नसकी सानो पानी जहाज (क्रुजसीप) नदीकिनारमा अलपत्र पारेको हो ।
भरतपुर महानगरपालिका–१६ काभ्रेघाटमा रहेको क्रुजसीप निर्माणको काम सकिएको भन्दै दुई वर्षअगाडि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । यसको प्रबन्ध निर्देशक रामचन्द्र कँडेल पनि यसबारेमा चासो राख्दा फोनसम्म उठाउँदैनन् ।
२०७४ सालमा केपी ओलीको सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै नारायणीमा बन्दै गरेको सानो पानी जहाजले विशेष चर्चा पाएको थियो । गृहमन्त्रीदेखि बागमती प्रदेशका मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरुले बन्दै गरेको पानीजहाजको पटकपटक अवलोकन गरेका थिए । यसको परीक्षण पनि गरिएको थियो । तर, कहिले कोरोना, कहिले नीतिगत कारण त कहिले आर्थिक कारण देखाउँदै सञ्चालनमा आउन नसकेको यो पानी जहाज अहिले नदी किनारमा नै अलपत्र परेको छ । कहिलेकाहीँ चलचित्र सुटिङ गर्ने र फोटो खिच्ने भन्दा बढी काम केही हुन सकेको छैन ।
क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले दुई वर्ष अगाडि नै मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै २०७६ फागुनदेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिएका थिए । उनले अनलाइन बुकिङको घोषणा गर्दै १० दिनभित्र बुकिङ गर्ने बताए तर पानी जहाज सञ्चालनमा आएन । पछि कँडेलले कोरोनाले गर्दा काम गर्न नसकिएको जानकारी दिएका थिए । कोरोना महामारी सकिएर पर्यटकीय गतिविधि सुचारु हुदा पनि पानी जहाज सञ्चालनमा आउन सकेन ।
चितवनको पर्यटकीय गतिविधिमा कायापलट नै ल्याउने आशा गरिएको पानी जहाज तीन वर्षदेखि नदी किनारमा अलपत्र पर्दा स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाहरु पनि आश्चर्यमा परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष अमृत हमालले सञ्चालनबारे आफूलाई केही जानकारी नभएको बताए । उनले भने, ‘ धेरै लामोसमयदेखि सञ्चालनमा किन आउन सकेन भन्ने मलाई थाहा भएन । कम्पनी नै अर्काे कसैलाई जिम्मा लगाएको भन्ने सुनेको हो । तर, कसलाई बेचेको हो भन्ने केही जानकारी छैन ।’
ज्ञानेश्वर सामुदायिक वनकी अध्यक्ष निर्मला श्रेष्ठले राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक कँडेलले फोन नै उठाउन छाडेको बताइन् । उनले भनिन्, ‘सञ्चालनमा नआईकन अरु कसैलाई बेचेको भन्ने हल्ला सुनेको छु । केही थाहा भएन ।’ वनका पूर्वअध्यक्ष राजन अधिकारीले आर्थिक तरलताको कारणले सञ्चालनमा आउन नसकेको बताए । पानी जहाज नयाँ वर्षमा सञ्चालन गर्ने भनेर जेनेरेटर ल्याएको भन्ने हल्ला सुनेको उनले बताए ।
सञ्चालनको योजना कस्तो थियो ?
भूपरिवेष्ठित देश नेपालमा समुन्द्री यात्राको अनुभव दिने गरी पानीजहाज सञ्चालन गर्ने योजना कम्पनीको थियो । कम्पनीको महत्वाकांक्षी योजना सुनेर चितवनबासी मख्ख पनि परेका थिए । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि अनलाइन बुकिङ खुला गरिँदैछ भनेर २०७६ माघमा नै हल्ला गरिएको थियो । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँने बताइएको थियो ।
भूइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिएका थिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको दाबी गरिएको थियो ।
योजना अनुसार क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन\तीन घण्टाको यात्रा गराइने भनिएको थियो । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्ने बताइएको थियो । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको भन्दै नेपाली मिडियाले समाचारमा विशेष प्राथमिकता दिएका थिए ।
क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीनजना क्रिउ मेम्बर र प्राविधिक विदेशबाट ल्याइएको भन्दै दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने पनि जनाइएको थियो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलले गरेको थियो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुने बताइएको थियो । क्रुज निर्माण २०७५ चैतबाट थालिएको थियो । क्रुज निर्माणका लागि १५ करोड हाराहारी खर्च भएको निर्माण कम्पनीको दाबी थियो । चितवनमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले पानी जहाजको उद्घाटन गर्ने भनेर निकै चर्चा थियो तर अहिलेसम्म पानी जहाज चल्ने छाट देखिएको छैन
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस