काठमाडौं, समयमा नै निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफुलाई लागेको जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोसँग माग गरेका छन् । आयोगलाई जरिवाना मिनाहाको माग गर्दै उनले निवेदन दिएका छन् ।
आयोगका अनुसार बालेनलाई सात लाख रुपैयाँ जरिवाना लागेको छ । निर्वाचन आयोग ऐनले राजनीतिक दल वा उम्मेदवारले तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ।
उनले फोहर व्यवस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्। निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएको आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो।” उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाएका थिए।
जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो। त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए। बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए। खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन्। उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस