रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।
पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो ।
पार्टीका नेताहरुका अनुसार पार्टीभित्र भइरहेको छलफलमा पनि स्वतन्त्र पार्टी सरकारमा जाने विषयमा कुराकानी भइरहेको छ ।
जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको विचार राखे । ‘हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौँ’ प्रवक्ता ढकालले भने, ‘ १०० वटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुप¥यो । मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुप¥यो ।’
ढकालले त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको बताए ।
नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।
प्रवक्ता ढकालले अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउने गरी मात्र सरकारमा सहभागी हुने बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस