काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ। समानुपातिकतर्फ खसेको मतको ८८ दशमलब १५ प्रतिशत मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९५ लाख ६० हजार एक सय ६४ मत गणना भइसकेको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।
रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ।
आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ७९ हजार ८३८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २४ लाख ४८ हजार ३५१, नेकपा माओवादी केन्द्रले १० लाख ९७ हजार ३६५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार ७७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५१ हजार २२, जनता समाजवादी पार्टीले तीन लाख ५७ हजार २१० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।
थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ९९ हजार २४८ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ६४ हजार ३३१ मत प्राप्त गरेको छ। ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्।निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस