चितवन क्षेत्र नम्बर २ मा पराजित हुनुभएका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले बाचुन्जेल चितवनका जनताको सेवामा समर्पित भइरहने बताउनुभएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएसँगै सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै पोखरेलले लोकतन्त्रमा हारजित स्वभाविक हो भन्दै पदमा नरहँदा पनि जनताको सेवामा समर्पित रहने बताउनु भएको हो । उहाँले सांसदको रुपमा १७६ भन्दा बढी कानुनहरु निर्माणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै जनताका दैनिक समस्या र विकास निर्माणमा सक्दो प्रयास गरेको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘आदरणीय दाजुभाई, दिदी बहिनीहरूमा सादर नमस्कार, यहाँहरूको न्यानो माया र स्नेहताले संविधानसभामा पुगेर मुलुकको संविधान मस्यौदा गरी न्यायपूर्ण संविधान जारी गर्ने अवसर प्राप्त भयो भने प्रतिनिधिसभाको सदस्यको रूपमा रही १७६ भन्दा बढी कानुनहरूलाई न्यायपूर्ण व्यवस्था सहित निर्माण गर्ने कार्यको अगुवाई गरियो । जनताका दैनिक समस्यामा होस् वा विकास निर्माणमा होस् हुन सक्ने प्रयत्न गरियो । यस पटकको निर्वाचनमा पार्टीले विश्वास गरी टिकट दियो तर विजय हासिल गर्न सकिएन । लोकतांत्रिक प्रकृयामा हारजित सामान्य हो । मलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई धेरै धेरै धन्यवाद छ । म पदमा नरहँदा पनि बाचुन्जेल जनताको सेवामा समर्पित भई लागिरहने छु । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने ज्युलाई बधाइ एवम् सफल कार्यकालको शुभकामना । विजेता मित्रलाई मेरो तर्फबाट हुन सक्ने रचनात्मक सहयोग रहनेछ । प्रमुख निर्वाचन अधिकृत लगायत निर्वाचनमा खट्नुहुने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चार क्षेत्रका साथीहरूलाई समेतलाई धेरै धन्यवाद ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस